इडेन गार्डेन स्कुलले विद्यार्थीहरूको अन्तरनिहित प्रतिभा उजागर गर्ने उद्देश्यले यस वर्ष एकल नृत्य प्रतियोगिता भव्य रूपमा सुरु गरेको छ। विद्यालयले विद्यार्थीहरुको क्षमता अझ निखार्ने लक्ष्यसहित—अडिशन राउन्ड, सुपर १६, सुपर १० र फाइनल राउण्ड हुंदै प्रतियोगिता सम्पन्न गर्ने योजना बनाएको छ।

कक्षा ४ देखि ९ सम्मका ४४९ विद्यार्थीहरु मध्ये ११२ जना विद्यार्थीले सहभागिता जनाएको प्रत्योगितामा कक्षा ४ देखि ६ सम्मका विद्यार्थी जुनियर समूह र कक्षा ७ देखि ९ सम्मका विद्यार्थी सिनियर समूह गरी दुई छुट्टाछुट्टै समूहमा प्रतिस्पर्धा जनाएका थिए । अडिशन राउन्डमा विद्यार्थीहरूको उत्साहजनक सहभागिता देखिएको थियो भने निकै कडा प्रतिस्पर्धा समेत भएको थियो। अडिशनको आधारमा सिनियरतर्फ २० जना र जुनियरतर्फ ३० जना प्रतिभाशाली विद्यार्थीहरू छानिएका छन्। अब यी छानिएका प्रतियोगीहरू सुपर १६ स्थान सुरक्षित गर्न दोस्रो चरणमा प्रतिस्पर्धा गर्नेछन्।

विद्यालयका भाइस–प्रिन्सिपल अनिश राईका अनुसार विद्यालयले गायन र नृत्यको एकल प्रतियोगिताहरू आयोजना गर्दै आएको छ। विद्यार्थीहरूमा लुकेका प्रतिभा पहिचान गरी सही अवसर दिलाउने विद्यालयको मुख्य उद्देश्य अनुसार गत वर्ष गायन तर्फ “Eden Singing Idol, Season-1” सम्पन्न गरेको र यस वर्ष नृत्य तर्फ “Eden Dancing Star-2082, Season-1” लाई विशेष रूपमा अघि ल्याउनुको कारण पनि त्यही रहेको कुरा उहांले बताउनु भयो । आउने वर्ष गायन तर्फ “Eden Singing Idol, Season-2” ल्याउने पनि जानकारी गराउनु भयो । यस प्रकारको प्रतियोगिताहरु प्रति अभिभावकहरुको पनि सकरात्मक प्रतिक्रिया रहेको समेत भाइस–प्रिन्सिपल अनिश राईले बताउनु भयो ।

इडेन गार्डेन स्कुलको यो पहलले विद्यार्थीहरूलाई आफ्नो कौशल प्रदर्शन गर्न प्रेरित गर्नुका साथै उनीहरूको आत्मविश्वास, अनुशासन र सिर्जनशीलता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास विद्यालयले व्यक्त गरेको छ।