सत्यराम कासिछ्वा
मानव सभ्यता ढुङ्गे युग, कृषि युग हुँदै आज विज्ञान र प्रविधि सहितको आैद्योगिक युगको चरणमा छ । ढुङ्गे युग तथा कृषि युगको सभ्यता मानिसहरू आफ्नो जीवन र शरीरलाई उत्पादनमा जोड दिँदै गतिशील तुल्याएको पाइन्छ । जसले गर्दा स्वस्थ जीवन सहजै हुन्थ्यो । तर विज्ञान र प्रविधिको युगले मानिसलाई अल्छी बनाउँदा विभिन्न रोगको सिकार बनाइयो ।
मानिसहरू रोगबाट बच्न विभिन्न प्रकारका खेल अभ्यास गर्ने गराउने परिपाटीको विकास भयो । हुन त ढुङ्गेयुगमा समेत मानिसहरू मनोरञ्जनका लागि विभिन्न प्रकारका खेलहरु खेल्दै आएको पाइन्छ । खेलकै माध्यमबाट नेतृत्व लिइ आफ्नो समुदायको विकास र समृद्धिको लागि नेता छान्ने परम्परा विश्वको मानव इतिहासमा अध्ययन गर्न सकिन्छ । यसले गर्दा खेलहरुसमेत वर्ग अनुसार खेल्ने परम्परा विकास भएको छ । जस्तै हक्की, गल्फ जस्ता सीमित घाँसेमैदानमा खेलिने खेलहरु नेपालमा सम्भ्रान्त वर्गले खेल्ने गरिएको छ ।
विज्ञान र प्रविधिको समयमा कृषि उत्पादनको लागि शारीरिक रूपमा श्रम गर्न नपर्ने अवस्था एकातिर छ भने अर्कोतिर श्रम नगरिँदा शरीरमा विभिन्न प्रकारका रोगहरुले सताउने भएकोले खेल सबै वर्गको लागि आवश्यक हुन गएको छ । जसले गर्दा खेल स्वस्थ जीवन तथा मनोरञ्जनको आधार बन्यो ।
मानव सभ्यताको विकाससँगै स्थानीय रूपमा उपलब्ध सामाग्रीहरुको प्रयोगले हरेक खेलहरुको विकास र नीति नियम स्थानीय स्तरबाटै हुन्छ । जसले खेललाई अन्तर्राष्ट्रिय रूपमा परिचित गराई राष्ट्रिय खेल हुँदै अन्तर्राष्ट्रिय खेलको रूपमा मान्यता दिलाउँछ ।
हुन त भक्तपुरलाई खुल्ला विश्वविद्यालयको रूपमा हेर्ने गरिन्छ । यहाँको सम्पदा, कला संस्कृति र संस्कारले भक्तपुर विश्व समुदायमा माैलिक सभ्यता बोकेर ऐतिहासिक र सांस्कृतिक नगरको रूपमा परिचित छ ।
आफ्नै पाठ्यक्रम लागू गर्ने देशकै पहिलो स्थानीय तहमध्ये भक्तपुर नगरपालिका रहेको छ । स्थानीय सरकार संचालन ऐन २०७४ र संविधानसभाको संविधानले दिएको अधिकार प्रयोग गरी भक्तपुर नगरपालिकाले विसं २०७५ देखि नै कक्षा १ र ६ मा स्थानीय पाठ्यक्रम लागू गरेको थियोे । पाठ्यक्रममा भक्तपुरको इतिहास, भूगोल, कला संस्कृति, रहनसहन तथा जीवनशैली, स्थानीय उपचार विधि र खेलहरुको जानकारी समावेश गरिएको छ । नैतिक सीप र शिक्षा सहित परिमार्जित स्थानीय पाठ्यक्रम २०८२ पनि कार्यान्वयनमा रहेको छ ।
गेम बल भनेर स्थानीय बोलीचालीमा प्रयोग गरिन्छ । खासमा यस खेलमा इट्टाका टुक्राहरु एकमाथि अर्को राखेर देग: (मन्दिर) बनाइन्छ । त्यसलाई भत्काएर पुनः मन्दिर बनाउनु नै गेम बल कासा हो ।
यो खेल भक्तपुरमा आजभन्दा करिब २० वर्ष अघिसम्म विद्यालयमा पढ्ने बालबालिका खेल्ने गरिन्थ्यो । यस खेलले शारीरिक रूपमा विकास गर्नुका साथै जीतको लागि सावधानीसहित एकाग्रता आवश्यक हुन्छ । यस खेलको लागि स्थानीय रूपमा उपलब्ध हुने कागज तथा कपडाको झुत्रोलाई धागोले बेरिएर बलको आकृति दिइन्छ । ससाना इट्टाका टुक्रा, चुङ्गी तथा कागज तथा कपडाको झुत्रोबाट बल बनाइन्छ ।
सामान्यतया यो खेल जाडो याममा खेलिन्छ । जाडो याममा हुने लामो बिदाको सदुपयोगको रूपमा विद्यालयमा पढ्ने बालबालिकाहरु मोबाइल जस्ता प्रविधिको विकास नभएको बेला शरीरको लागि आवश्यक न्यानोपन तथा तातोपन पाउन यस्तो गेम बल खेल्ने गरिन्छ ।
सामान्यतया परम्परागत यस खेल खेल्न कुनैपनि प्रकारको चाैरको सीमित क्षेत्र थिएन । यो खेल झट्ट हेर्दा क्रिकेट झैँ जस्तो देखिन्छ । समयको विकाससँगै यस खेललाई नियममा रूपान्तरण गर्न जरुरी छ ।
यो खेल स्थानीय रूपमा खेलिँदा सामान्य नियम भन्दा अरु कुनै मापदण्ड निर्धारण भएको पाइँदैन । भक्तपुर नगरपालिकाले संविधानले दिएको अधिकार प्रयोग गरि स्थानीय पाठ्यक्रम र त्यसको लागि आवश्यक सन्दर्भ सामाग्रीहरु निर्माण गरिरहेको छ । भक्तपुरमा स्थानीय स्राेत साधन प्रयोग गरि खेलिएका खेलहरुलाई पनि स्थानीय पाठ्यक्रम समावेश गरिँदै आएको छ । यहीँ क्रममा गेम बल कासा (देग: वा मन्दिर निर्माण खेल) लाई पनि स्थानीय खेलको रूपमा पाठ्यक्रममा समावेश गरिएको छ ।
सामान्यतया नियम बनाउँदा १५ मिटरको लम्बाइ र १०मिटरको चाैडाइ क्षेत्र भएको चाैर वा कोर्ट भएमा खेल बढी रोमाञ्चक देखिन्थ्यो । कोर्टमा १० मिटरको ठिक बीचमा तथा १५ मिटरको ३ मिटर भित्र पारेर इट्टाका टुक्रा माथि टुक्रा इट्टा ७ देखि ९ वटा चाङ लगाएर वा जोडिएर देग:(मन्दिर) बनाउँदै सबैभन्दा माथि चुङ्गी तथा कागज तथा कपडाको झुत्रोबाट बनेको बल राख्नुपर्छ । देग: देखि ५ मिटर दुरीमा विभिन्न ५ वा ७ खेलाडी मध्ये १ जनाले उक्त देग: बल वा इट्टाको टुक्राद्वारा भत्काउनुपर्छ । चुङ्गी तथा कागज तथा कपडाको झुत्रोको बल टिपेर देग:को आसपासमा १ जना डुम वा नेताले भत्किएको देग:लाई पुनः बनाउन दिँदैन । उक्त डुमले भत्काएको देग:लाई पुन: पहिलाकै स्थितिमा निर्माण गर्न खोज्ने खेलाडीलाई कागज तथा कपडाको झुत्रोबाट बनेको बल वा चुङ्गीले हानेर जित्न खोज्छ । डुमले सबै खेलाडीलाई देग: पुनः बनाउन नदिई चुङ्गीले हान सकेमा डुमको जीत हुन्छ । यदि भत्किएको देग: ५/७ खेलाडी मध्ये कुनै एक खेलाडीले बनाउन सकेमा उसको जीत हुन्छ ।