सूर्यविनायक–३, बालकोटस्थित इडेन गार्डेन इङ्ग्लिस स्कुलको आयोजनामा “ईडेन गार्डेन शैक्षिक प्रदर्शनी-२०८२” पौष ५ गतेका दिन भव्यताका साथ सम्पन्न भएको छ।
विद्यार्थीहरूमा निहित विज्ञान, सामाजिक अध्ययन तथा चित्रकला सम्बन्धी सिर्जनशीलता र नवप्रवर्तनकारी सोचलाई उजागर गर्ने उद्देश्यले आयोजित यो प्रदर्शनी शैक्षिक दृष्टिले अत्यन्तै प्रेरणादायी र उपलब्धिमूलक रहेको विद्यालयले जनाएको छ। विद्यालयस्तरमै सैद्धान्तिक ज्ञानलाई व्यवहारसँग जोड्ने र विद्यार्थीहरूमा अनुसन्धानमुखी सोचको विकास गराउने लक्ष्यका साथ यो बृहत् कार्यक्रम आयोजना गरिएको हो।
उक्त शैक्षिक मेलामा ६५० भन्दा बढी अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। अभिभावकहरूले विद्यार्थीहरू आफैंले तयार पारेका विज्ञानका प्रयोगात्मक सामग्री, सामाजिक अध्ययनसँग सम्बन्धित परियोजनाहरू र विविध कलात्मक वस्तुहरूको प्रत्यक्ष अवलोकन गरेका थिए। आफ्ना बाबुनानीहरूले ठुलो आत्मविश्वासका साथ आफ्ना सिर्जनाहरूका बारेमा व्याख्या गरिरहँदा उपस्थित अभिभावकहरूले विद्यार्थीहरूको सिकाई र क्षमतालाई नजिकबाट अनुभूति गर्दै प्रशंसा गरेका थिए।
कार्यक्रमको सफलताको श्रेय विद्यार्थीहरूको कडा मिहिनेत र शिक्षकहरूको निरन्तर मार्गदर्शनलाई दिँदै विद्यालयका सह-प्रिन्सिपल अनिश राईले सम्पूर्ण उपस्थित शुभचिन्तकहरूप्रति हार्दिक आभार व्यक्त गर्नुभयो। उहाँले यस्ता कार्यक्रमहरूले विद्यार्थीको आत्मविश्वास बढाउन र समस्या समाधान गर्ने क्षमता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो। राईले आगामी दिनमा पनि यस्ता व्यवहारिक र सिर्जनशील शैक्षिक गतिविधिहरूलाई अझ परिष्कृत र प्रभावकारी रूपमा निरन्तरता दिने विद्यालयको लक्ष्य रहेको जानकारी दिनुभयो।