महाकालीस्थान, भक्तपुरस्थित गोल्डेन गेट इङ्गलिश सेकेन्डरी स्कुलमा विद्यार्थीहरूको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्यका साथ तीन दिने भव्य ‘ईसिए फेस्ट २०८२’ सुरु भएको छ।
विद्यालयको नवनिर्मित ‘प्राईमरी प्यालेस’को खेलमैदानमा आयोजित एक विशेष समारोहका बीच विद्यालयकी संस्थापक निर्देशक अञ्जु जोशीले चाईनिज पोलमा फुटबलको गोल प्रहार गरी फेस्टको औपचारिक उद्घाटन गर्नुभयो। पौष २३ गतेदेखि २५ गतेसम्म चल्ने यस महोत्सवले विद्यार्थीहरूलाई किताबी ज्ञानभन्दा बाहिर निस्केर आफ्नो सिर्जनात्मक र शारीरिक क्षमता प्रदर्शन गर्ने सुनौलो प्लेटफर्म प्रदान गरेको छ।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै विद्यालयका प्रिन्सिपल तथा को–फाउण्डर सिङ्ग लामाले गोल्डेन गेटले सिकाईको दायरालाई कक्षाकोठामा मात्र सीमित नराखी हरेक वर्ष यस्ता अतिरिक्त क्रियाकलाप (ECA) फेस्ट आयोजना गर्दै आएको बताउनुभयो। उहाँले आगामी दिनमा विद्यालयले खेल मैदानको थप विस्तार गर्ने, आधुनिक आईसिटी हल निर्माण गर्ने र नियमित प्रशिक्षणहरू सञ्चालन गरी विद्यार्थीहरूलाई विश्वस्तरीय अवसर प्रदान गर्ने योजना समेत सुनाउनुभयो। यस्ता क्रियाकलापले विद्यार्थीको आत्मविश्वास बढाउनुका साथै उनीहरूको सर्वाङ्गीण विकासमा टेवा पुग्ने विश्वास विद्यालय प्रशासनले लिएको छ।
यस वर्षको फेस्टमा कुल २२ वटा विधाका खेल तथा प्रतिस्पर्धाहरू समावेश गरिएका छन्, जसमा विद्यार्थीहरूको उत्साहजनक सहभागिता देखिएको छ। प्रतियोगिताहरूमा जुनियर बास्केटबल, बलुन ब्रस्ट, हट पोटेटो, म्याथ रेस, र म्युजिकल चेयर जस्ता रमाइला खेलदेखि १०० मिटर दौड, रिले दौड, टग अफ वार, र स्कोर द गोल्डेन गोल जस्ता शारीरिक प्रतिस्पर्धा रहेका छन्।

त्यस्तै, टेबल टेनिस, ब्याडमिन्टन, हाई जम्प, र लङ जम्पका साथै बौद्धिक विकासका लागि चेस, बाघचाल, कसिमला पाँय, स्क्र्याबल गेम, स्ल्याम पोएट्री, कथा लेखन, र चित्रकला प्रतियोगिता पनि सञ्चालन भइरहेका छन्। गायन र नृत्य विधामा पनि विद्यार्थीहरूले आफ्नो कला देखाउँदै महोत्सवलाई थप उल्लासमय बनाएका छन्।

