ताजा अपडेट

ट्रेन्डिङ

राष्ट्रिय SQC सम्मेलनमा विनायक शिक्षा निकेतनको सहभागिता: १५ सदस्यीय टोली पोखरा प्रस्थान

Gyan Khabar

ज्ञानखबर

सोम, पुस २८, २०८२
283 पटक हेरिएको
राष्ट्रिय SQC सम्मेलनमा विनायक शिक्षा निकेतनको सहभागिता: १५ सदस्यीय टोली पोखरा प्रस्थान

पोखराको सेन्ट मेरिज स्कुलमा पुस ३० देखि माघ २ गतेसम्म आयोजना हुने ‘स्टुडेन्ट्स क्वालिटी सर्कल’ (SQC) को राष्ट्रिय सम्मेलनमा सहभागी हुन जाने विनायक शिक्षा निकेतनको टोलीलाई आज एक समारोहबीच भव्य विदाई गरिएको छ।

विद्यालयका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौलाको नेतृत्वमा जान लागेको १५ जना मेधावी छात्र-छात्राहरूको टोलीलाई संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले सफलताको शुभकामनासहित विदाई गर्नुभयो।

विदाई कार्यक्रममा बोल्नुहुँदै प्रिन्सिपल प्रजापतिले राष्ट्रिय तहको यस्तो गरिमामय मञ्चमा सहभागी हुनु विद्यार्थीहरूका लागि व्यक्तित्व विकासको सुनौलो अवसर भएको बताउनुभयो। उहाँले विद्यार्थीहरूले अनुशासित रूपमा आफ्नो तार्किक क्षमता प्रदर्शन गरी विद्यालयको साख जोगाउने विश्वास व्यक्त गर्नुभयो। विद्यालयले आफ्ना विद्यार्थीहरूलाई सधैँ यस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शैक्षिक कार्यक्रमहरूमा सक्रिय गराउँदै आएको उहाँको भनाइ थियो।

टोलीका नेता एवं सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौलाले SQC अभियानले विद्यार्थीहरूमा चिन्तनशील र तार्किक क्षमता अभिवृद्धि गर्ने भएकाले यसलाई एउटा महत्त्वपूर्ण सिकाइको रूपमा लिनुपर्नेमा जोड दिनुभयो। यस सम्मेलनले विद्यार्थीहरूलाई समस्या समाधानका नवीन विधिहरू सिक्न र देशभरका साथीहरूसँग ज्ञान आदानप्रदान गर्न मद्दत पुर्‍याउने अपेक्षा गरिएको छ।