सत्य राम कासिछ्वा
सूर्यमढी-९, भक्तपुर
हरेक चाडपर्व समाज र संस्कृतिको उपज हो । हरेक वर्गकाले संस्कृतिसहित नयाँ पुस्ताको लागि चाडपर्व स्वतः हस्तान्तरण गरेका हुन्छन् । नेपालमा विभिन्न जातजाति र भाषाभाषी भए तापनि हरेक माघ १ गते मनाइने माघे सङ्क्रान्तिलाई सबै समुदायको साझा पर्वको रूपमा लिइन्छ । जुन मकर सङ्क्रान्तिको नामले नेपाल तथा भारतमा मनाइने एक महत्वपूर्ण चाड हो। यो चाड माघ महिनाको पहिलो दिन सूर्य मकर राशिमा प्रवेश गरेको अवसरमा मनाइन्छ।
महत्त्व र परम्परा
यो पर्व वा समयले जाडोको अन्त्य र दिन लामो हुँदै जाने संकेत जनाउँछ। साथै यो नयाँ सुरुवात, स्वास्थ्य र समृद्धिको प्रतीक हो । नेपालमा विशेषगरी तराई र थारू समुदायका मानिसले यस दिनमा ठूलो उत्सव मनाउँछ।
विशाल समुदायले मनाउने पर्व
माघे सङ्क्रान्ति नेपालका धेरै समुदायहरूले आ-आफ्ना परम्पराअनुसार मनाउँछन् । जसमा थारू समुदायका मानिसले सबैभन्दा ठूलो पर्वका रूपमा माघीपर्व मनाइन्छ । त्यस्तै मगर समुदायले विशेष पर्व तथा गुरुङ समुदायकाले परम्परागत रूपमा माघे संक्रान्ति पर्व मनाइन्छ । भने ब्राह्मण, क्षेत्री, ठाकुरी समुदायले आआफ्नो धार्मिक संस्कारसहित तथा तामाङ, राई, लिम्बु समुदायले आफ्नै सांस्कृतिक शैलीमा र नेवार समुदायले घ्यू–चाकु खाने परम्परासहित यस पर्व मनाउँछन् ।
भारतका विभिन्न राज्य तथा क्षेत्रमा उत्तर भारतका हिन्दु समुदायले मकर संक्रान्ति, दक्षिण भारतकाले पोंगल, गुजरातका हिन्दु समुदायले उत्तरायण, बंगालका हिन्दुले पौष संक्रान्ति तथा आसामका हिन्दु समुदायले भोगाली बिहू भनी माघे संक्रान्ति पर्व मनाउँछन् ।
मिथिलाको माघे सङ्क्रान्ति
माघे संक्रान्ति पर्व मिथिला क्षेत्रमा तिला संक्रान्तिको नामले प्रसिद्ध छ । कतैकतै तिला सङ्क्रायत पनि भनिन्छ । मिथिला क्षेत्रमा पर्व सुरु हुनु ९/१० अगाडिदेखि तिल, चिउरा, भूजा र सख्खर मिलाएर लड्डु बनाउने र पर्वका दिन खाने गरिन्छ । संक्रान्तिको बिहानै घरका पाका सदस्य जागेर नित्यकर्म गरि चामल, दाल, घिउ र तरुलको तरकारी एकैसाथ मिसाएर खिचडी बनाएर कूल देवतालाई चढाउने र पछि प्रसादको रूपमा सदस्यलाई हमर तिल बहवे अर्थात् मेरो आउँदो दिनमा मलाई साथ दिन्छौं भनी वितरण गरिन्छ । यसले मिथिला संस्कृति पुस्तान्तरण गर्न सहयोग गर्दछ ।
माघे सङ्क्रान्ति मनाउनुको विशेषता तथा कारण
माघे सङ्क्रान्ति पर्व मनाउनुको धार्मिक, खगोलीय र सांस्कृतिक कारणहरु छन् ।
१) खगोलीय कारण: यस दिन सूर्य मकर राशिमा प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जान्छ । र यसले जाडोको अन्त्य र न्यानोपनको सुरुवातको संकेत गर्दछ।
२) धार्मिक कारण: हिन्दू धर्ममा यो दिनलाई पवित्र स्नान, दान र पूजा गर्ने दिनको रूपमा लिइन्छ । यस दिन दान गरे पुण्य बढ्ने विश्वासका साथ भगवान विष्णु र सूर्यदेवको पूजा गरिन्छ।
३) स्वास्थ्यसँग सम्बन्ध: यस दिनबाट जाडोमा शरीरलाई ऊर्जा दिन तिल, चाकु, घ्यू, तरुल जस्ता कन्दमूल खाने चलन छ । यी खानेकुराले शरीर तताउने र बल दिने मानिन्छन्।
४) सांस्कृतिक र सामाजिक कारण: थारू समुदायमा नयाँ वर्ष (माघी) को रूपमा मनाइन्छ । यो पर्वमा विभिन्न समुदायका मानिसहरूले आफ्ना पुराना दुःख–कष्ट बिर्सेर नयाँ सुरुवात गर्ने प्रतीक तथा घर–परिवार र समाज एक ठाउँमा भेला हुने अवसर पनि प्राप्त हुन्छ ।
माघे संक्रान्ति पर्व प्रकृति, धर्म, स्वास्थ्य र समाज सबैसँग जोडिएको पर्व हो। त्यसैले यसलाई आस्था र जीवनशैलीसँग सम्बन्धित पर्वका रूपमा मनाइन्छ। संक्षेपमा, माघे संक्रान्ति धार्मिक मात्र होइन, सांस्कृतिक र सामाजिक पर्व हो, जुन विभिन्न समुदायले आ–आफ्नो पहिचानसहित मनाउँछन् ।
माघे सङ्क्रान्तिका परिकारहरू:
माघे संक्रान्तिको दिन जाडोबाट बच्न र स्वास्थ्यका लागि पौष्टिक तथा शरीर तताउने खानेकुरा तिलको लड्डु तथा चटनी, चाकु, घ्यू, तरुल, सक्खरखण्ड, खिचडी खाने परम्परा रहेको छ । यस दिन समुदायअनुसार विभिन्न परिकारहरु खाइन्छ ।
नेवार समुदायका मानिसले विशेष प्राथमिकतासाथ घ्यू, चाकु, तिल खाइन्छ । थारू समुदायले ढिक्री, माछा, मासु, चामलका परिकार तथा पहाडी क्षेत्र विभिन्न समुदायले तरुल, गिठा, भ्याकुर, भुटेको मकै खाने परम्परा रहेको छ । यस पर्वमा खाने यी परिकारले शरीर तातो राख्ने, बल दिने र जाडोमा स्वास्थ्य राम्रो बनाउने विश्वास छ।
माघे सङ्क्रान्तिमा नेवार समुदायको विशेषता
नेवार समुदायले माघे संक्रान्तिलाई “घ्यू–चाकु सँल्हु” (घ्यू चाकु सन्हु/संल्हु) भनेर मनाउँछन् । यसलाई रैथाने नेपालभाषामा हाम्व: सङ्क्रान्ति पनि भनिन्छ । यसदिन जाडोबाट शरीर जोगाउन र स्वास्थ्यका लागि परिवारका सबै सदस्य भेला भएर घ्यू, चाकु, तिलको लड्डु र तरुल अनिवार्य रूपमा खाने परम्परा रहेको छ । यस पर्वको भोलिपल्ट छोरीचेलीलाई मात्रै घरमा बोलाएर भोज खुवाउने गरिन्छ, जसलाई म्हाय् मचा नखः समेत भनिन्छ ।
माघे सङ्क्रान्तिको धार्मिक महत्त्व
१) सूर्यदेवको आराधना: यस दिन सूर्य उत्तरायण हुने भएकाले शुभ मानिन्छ। सूर्यदेवको पूजा गरी सम्पूर्ण परिवारका सदस्यहरूको स्वास्थ्य, दीर्घायु र उर्जाको कामना गरिन्छ।
२) भगवान विष्णुसँग सम्बन्ध: माघे संक्रान्तिदेखि देवता जाग्ने समय सुरु भएको विश्वास गरिन्छ। यसदिन भगवान विष्णुको पूजा विशेष महत्वकासाथ पूजापाठ गर्ने गरिन्छ ।
३) पितृकार्य र तर्पण: यो पर्वको दिन पूर्वजहरूको स्मृतिमा तर्पण र पूजा गरिन्छ। यस दिन गरिएको पितृकार्यले पुण्य प्राप्त हुन्छ भन्ने मान्यता रहेको छ ।
४) घ्यू–चाकुको धार्मिक अर्थ: घ्यू लाई धार्मिक कार्यमा शुद्धता र तेज तथा चाकु लाई शक्ति र उर्जा को प्रतीक मानेर देवतालाई चढाएर मात्र खाने परम्परा नेवार समुदायमा रहेको छ ।
५) शुभ समयको सुरुवात: माघे संक्रान्तिलाई अशुभ समयको अन्त्य र शुभ कालको आरम्भ मानिने भएकोले धार्मिक कार्य, व्रत, पूजा सुरु गर्न उपयुक्त दिन मानिन्छ ।
नेवार समुदायमा माघे संक्रान्ति केवल खानपानको पर्व होइन, यो सूर्य, विष्णु र पितृपूजासँग जोडिएको महत्वपूर्ण धार्मिक पर्व हो।
माघे सङ्क्रान्तिको सामाजिक महत्त्व
१) पारिवारिक एकता: परिवारका सबै सदस्य भेला भएर घ्यू–चाकु तथा तरुलसँगै खाने परम्परा रहँदा टाढा रहेका आफन्त पनि घर फर्कने भएकाले आपसी सम्बन्ध बलियो हुन्छ ।
२) ज्येष्ठप्रति सम्मान: घरका ज्येष्ठ सदस्यबाट टीका/आशीर्वाद लिने चलनले अग्रजको अनुभव र परम्पराको सम्मान गर्ने अवसरको रूपमा लिइन्छ ।
३) साझा संस्कृतिको निरन्तरता: नयाँ पुस्तालाई परम्परा, भाषा र संस्कार सिकाउने दिनको रूपमा विभिन्न जाति लगायत नेवार पहिचान कायम गर्न र सांस्कृतिक निरन्तरता दिन यो पर्वले सहयोग पुर्याउँछ ।
४) मेलमिलाप र सद्भाव: आफन्त, छिमेकीबीच भेटघाट हुने भएकोले सत्कार रिसराग, मनमुटाव भुलेर सम्बन्ध सुधार्ने अवसर प्राप्त हुन्छ ।
५) समुदायिक सहयोग: यो पर्वमा गरिब, वृद्ध र असहायलाई दान र सहयोग गर्ने हुँदा सामाजिक उत्तरदायित्वको भावना विकास हुन्छ ।
६) उत्सव र आनन्द: खेती किसानी कामकाजबाट विश्रामको समय भएकोले सामूहिक खुशी, गीत–संगीत र रमाइलो गर्ने गरिन्छ ।
नेवारलगायत विभिन्न समुदायमा माघे संक्रान्ति खानपान मात्र होइन,यो परिवार, समाज र संस्कृतिलाई जोड्ने सामाजिक पर्व हो।
माघे सङ्क्रान्तिको सांस्कृतिक महत्त्व
१) विभिन्न जातजातिको पहिचान संरक्षण : “घ्यू–चाकु सँल्हु” भन्ने आफ्नै माैलिक नाम र परम्पराले नेवारी भाषा, संस्कार र जीवनशैलीको निरन्तरता यस पर्वले नि दिएको छ । साथै विभिन्न जातजाति, भाषाभाषीको समुदायको पहिचान यस पर्वमा देख्न सकिन्छ ।
२) परम्परागत खानपानको संरक्षण: घ्यू, चाकु, तिल तरुल जस्ता परम्परागत कृषि खाद्य संस्कृतिको जगेर्नासँगै मौसमी र आयुर्वेदिक ज्ञानको प्रयोग नेवार समुदायमा रहेको छ ।
३) पुस्तान्तरण : ज्येष्ठ नागरिकले साना पुस्तालाई कथा, मान्यता र विधि सिकाउने संस्कृति मौखिक रूपमा अगाडि बढ्ने अवसरको रूपमा यस पर्वभित्र लुकेको संस्कृति हो ।
४) समय र प्रकृतिसँगको सम्बन्ध: सूर्यको गति, ऋतु परिवर्तनसँग जोडिएको पर्वको रूपमा प्रकृतिको चक्रसँग मानव जीवनलाई समन्वय गर्ने संस्कृति रहेको छ ।
समुदायअनुसार माघे सङ्क्रान्तिमा प्रयोग गरिने खाद्य परिकारमा भिन्नता भए तापनि घिउ, चाकु, तरुल, तिलको साझापनले नेपालीको एकता जोड्ने पर्वको रूपमा माघे सङ्क्रान्ति हो ।