ताजा अपडेट

ट्रेन्डिङ

कामना सेवा विकास बैंकद्वारा शोधकर्ता विद्यार्थीहरूलाई ‘अनुसन्धान अनुदान’ घोषणा

Gyan Khabar

ज्ञानखबर

आइत, माघ ४, २०८२
138 पटक हेरिएको
कामना सेवा विकास बैंकद्वारा शोधकर्ता विद्यार्थीहरूलाई ‘अनुसन्धान अनुदान’ घोषणा

कामना सेवा विकास बैंकले नेपालकै पहिलो बैंकका रूपमा नेपाल राष्ट्र बैंकको संस्थागत सामाजिक उत्तरदायित्व निर्देशिका बमोजिम उच्च शिक्षामा अध्ययनरत विद्यार्थीहरूलाई ‘अनुसन्धान अनुदान’ प्रदान गर्ने घोषणा गरेको छ। यो पहलले शैक्षिक अनुसन्धान र बैंकिङ क्षेत्रबीचको खाडललाई कम गर्दै विद्यार्थीहरूलाई बौद्धिक योगदानका लागि प्रोत्साहित गर्ने लक्ष्य राखेको छ।

बैंकले विशेषगरी अर्थशास्त्र, व्यवस्थापन र सूचना प्रविधि क्षेत्रका प्रतिभाशाली विद्यार्थीहरूलाई लक्षित गरेको छ। बैंकिङ र अर्थतन्त्रसँग सम्बन्धित मौलिक अनुसन्धानका लागि एमफिल तहका दुई जना विद्यार्थीले जनही १ लाख रुपैयाँ प्राप्त गर्नेछन्। त्यस्तै, स्नातकोत्तर तहका चार जना विद्यार्थीलाई जनही ५० हजार रुपैयाँका दरले अनुदान उपलब्ध गराइनेछ। यो अनुदान प्राप्त गर्न विद्यार्थीहरूले व्यवस्थापन, अर्थशास्त्र, वा कम्प्युटर विज्ञान तथा सूचना प्रविधि विषयमा अध्ययनरत हुनुपर्नेछ।

इच्छुक विद्यार्थीहरूले आगामी १४ मार्च २०२६ भित्र आफ्नो कलेजको सिफारिससहित बैंक समक्ष शोध प्रस्तावना पेश गर्नुपर्नेछ। छनौट प्रक्रियालाई निष्पक्ष बनाउन सम्बन्धित विषयका विज्ञहरू सम्मिलित एक विशेष समिति गठन गरिएको छ। बैंकका अनुसार शोध कार्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा तुलना गर्न सकिने, भरपर्दो र प्रमाणित तथ्याङ्कमा आधारित हुनुपर्नेछ।

बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले यस अनुदानले शोधकर्ता विद्यार्थीहरूको आर्थिक भार कम गर्दै उनीहरूलाई गुणस्तरीय अनुसन्धानमा केन्द्रित हुन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभएको छ। नेपाल राष्ट्र बैंकले हालै बैंकहरूलाई आफ्नो सामाजिक उत्तरदायित्व कोषबाट छात्रवृत्ति र अनुसन्धानमा लगानी गर्न सकिने व्यवस्था गरेसँगै यो कार्यक्रम सुरु गर्ने कामना सेवा पहिलो बैंक बनेको छ। इच्छुक विद्यार्थीहरूले थप विस्तृत जानकारीका लागि बैंकको आधिकारिक वेबसाइट www.kamanasewabank.com मा हेर्न सक्नेछन्।

3549 Call20for20Research20Grant20Notice Kamana20Sewa 2

5631 Call20for20Research20Grant20Notice Kamana20Sewa 1