ताजा अपडेट

ट्रेन्डिङ

इडेन गार्डेनमा अबाकस प्रतियोगिता तथा हस्तलेखन प्रदर्शनी सम्पन्न

Gyan Khabar

ज्ञानखबर

आइत, माघ ४, २०८२
218 पटक हेरिएको
इडेन गार्डेनमा अबाकस प्रतियोगिता तथा हस्तलेखन प्रदर्शनी सम्पन्न

सूर्यविनायक नगरपालिका–३, बालकोटमा अवस्थित इडेन गार्डेन इङ्ग्लिस स्कुलमा अतिरिक्त कक्षा कार्यक्रम अन्तर्गत आयोजित अबाकस प्रतियोगिता तथा हस्तलेखन प्रदर्शनी भव्यताका साथ सम्पन्न भएको छ ।

बालबालिकाको दिमागी विकास, एकाग्रता वृद्धि, स्मरणशक्ति सुदृढीकरण तथा छिटो र सही निर्णय क्षमताको विकासमा अत्यन्त प्रभावकारी मानिने अबाकस शिक्षालाई विद्यालयले नियमित पाठ्यक्रमसँगै अतिरिक्त कक्षाका रूपमा सञ्चालन गर्दै आएको छ । यसै कार्यक्रमको उपलब्धि उजागर गर्ने उद्देश्यले विद्यालय स्तरीय अबाकस प्रतियोगिता आयोजना गरिएको हो, जहाँ विद्यार्थीहरूले तीव्र गणनात्मक क्षमता, आत्मविश्वास र तार्किक सोच प्रस्तुत गरेका थिए ।

त्यसैगरी, सुन्दर, स्पष्ट र अनुशासित लेखन शैली विकास गर्न महत्वपूर्ण मानिने हस्तलेखन अभ्यासलाई व्यवहारमा उतार्दै विद्यार्थीहरूले आफ्नै सिर्जनात्मक लेखनका माध्यमबाट हस्तलेखन प्रदर्शनी प्रस्तुत गरेका थिए । हस्तलेखनले बालबालिकाको ध्यान केन्द्रित गर्ने क्षमता, धैर्य, सौन्दर्यबोध र व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास विद्यालयले लिएको छ ।

कार्यक्रम BAL BIKASH NCMAS सँगको सहकार्यमा सम्पन्न भएको हो । कार्यक्रममा BAL BIKASH NCMAS का प्रबन्ध निर्देशक तेजु नेपालले अबाकस शिक्षाले बालबालिकाको दुवै मस्तिष्क (दायाँ र बायाँ) सक्रिय बनाउने, आत्मविश्वास बढाउने र शैक्षिक उपलब्धिमा सकारात्मक प्रभाव पार्ने विषयमा अभिभावकहरूलाई जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा सहभागी सम्पूर्ण विद्यार्थीहरूको उत्साह, अनुशासन र प्रस्तुतीको प्रशंसा गर्दै विद्यालयका भाइस प्रिन्सिपल अनिश राईले “अबाकस र हस्तलेखन जस्ता अभ्यासले बालबालिकाको शैक्षिक सफलतासँगै जीवनोपयोगी सीप र व्यक्तित्व विकासमा समेत महत्वपूर्ण योगदान पुर्‍याउँछ” भन्दै सबै विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भयो ।

FB IMG 1768744851322

कार्यक्रम सफल बनाउन मेहेनत गर्नुहुने अबाकस प्रशिक्षक, शिक्षक–शिक्षिका, विद्यालय प्रशासन तथा सहयोगी कर्मचारीहरूप्रति विद्यालयले हार्दिक धन्यवाद व्यक्त गरेको छ । साथै आफ्ना नानीहरूको प्रतिभा पहिचान, विकास र प्रोत्साहनमा निरन्तर साथ दिने अभिभावकहरूप्रति विद्यालयले विशेष कृतज्ञता प्रकट गरेको छ ।

इडेन गार्डेन इङ्ग्लिस स्कुलले आगामी दिनहरूमा पनि बालबालिकाको सिर्जनात्मकता, बौद्धिक क्षमता र आत्मविश्वास अभिवृद्धि गर्ने यस्ता ज्ञानवर्धक तथा प्रतिभा प्रस्फुटनका कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।