ताजा अपडेट

ट्रेन्डिङ

एसईई नतिजा सुधार्न महानगरको एक्सन: डिजिटल हाजिरीसँगै दिवा खाजालाई जोड्न डंगोलको निर्देशन

Gyan Khabar

ज्ञानखबर

बुध, माघ १४, २०८२
279 पटक हेरिएको
एसईई नतिजा सुधार्न महानगरको एक्सन: डिजिटल हाजिरीसँगै दिवा खाजालाई जोड्न डंगोलको निर्देशन

काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर र प्रशासनिक पारदर्शितामा ठुलो फड्को मार्ने तयारी गरेको छ। कार्यवाहक प्रमुख सुनिता डंगोलले विद्यालयहरूमा शिक्षक, कर्मचारी र विद्यार्थीको डिजिटल हाजिरी ७ दिनभित्र पूर्ण रूपमा कार्यान्वयनमा ल्याउन कडा निर्देशन दिनुभएको छ। विभागीय र क्षेत्रगत कामको प्रगति समीक्षा तथा आगामी योजनाका बारेमा शिक्षा र सूचना प्रविधि विभागका अधिकारीहरूसँग भएको छलफलमा डंगोलले यस्तो कडा कदम चाल्नुभएको हो।

कार्यवाहक प्रमुख डंगोलले विद्यालयमा नियमिततालाई मुख्य प्राथमिकतामा राख्नुभएको छ। उहाँले भन्नुभयो, “नियमितता विद्यार्थीको मात्र होइन, शिक्षक र कर्मचारीको पनि हुनुपर्छ। अबदेखि दिवा खाजा कार्यक्रमलाई समेत डिजिटल हाजिरीसँग अनिवार्य रूपमा आबद्ध गरिनुपर्छ।” यसले विद्यालयमा हुने खाजा खर्चको पारदर्शिता र विद्यार्थीको उपस्थिति दरलाई यथार्थपरक बनाउने अपेक्षा गरिएको छ।

आगामी एसईई परीक्षाको तयारीमा कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभयो। गएको वर्षको नतिजामा क्रमिक सुधार ल्याउन अतिरिक्त कक्षा, शिक्षक व्यवस्थापन र आवश्यक शैक्षिक सामग्रीमा कुनै सम्झौता नगर्न उहाँको स्पष्ट अडान छ। “तथ्यले नतिजामा सुधार देखाउनुपर्छ, यसमा कसैलाई पनि छुट दिइने छैन,” उहाँले थप्नुभयो।

छलफलका क्रममा भृकुटीमण्डपस्थित पुस्तकालयको प्रभावकारिता र सामुदायिक विद्यालयको पूर्वाधार परीक्षण प्रतिवेदनका विषयमा पनि गहन संवाद भएको थियो। महानगरले विद्यालय भवनहरूको सुरक्षा र शैक्षिक वातावरणको अवस्थाबारे लिइएको प्रतिवेदनका आधारमा आगामी दिनमा भौतिक सुधारका कामहरूलाई तीव्रता दिने योजना बनाएको छ।

महानगरले सञ्चालन गरिरहेको ‘शिक्षामा सीप’ कार्यक्रमको गुणस्तर र त्यसलाई अझ परिष्कृत बनाउने विषयमा पनि छलफल केन्द्रित थियो। विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक सीपमा दक्ष बनाउन महानगरले चालु आर्थिक वर्षमा थप कार्यक्रमहरू सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छ।