सूर्यविनायक नगरपालिकाको आयोजनामा सम्पन्न तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०८२ मा अरनिको माध्यमिक विद्यालयले ऐतिहासिक सफलता हासिल गरेको छ। वडा नं. ६ स्थित बनाचौर खेलमैदानमा तीन दिनसम्म चलेको यस नगरस्तरीय प्रतिस्पर्धामा अरनिको माविले उत्कृष्ट खेल प्रदर्शन गर्दै समग्र उपाधि आफ्नो पोल्टामा पारेको हो। प्रतियोगिताभरि अन्य प्रतिस्पर्धी विद्यालयहरूलाई निकै पछि पार्दै अरनिकोले खेलकुदको क्षेत्रमा आफ्नो बलियो उपस्थिति प्रमाणित गरेको छ।
पदक तालिकामा स्पष्ट अग्रता कायम गर्ने क्रममा अरनिको माविले कूल २५ स्वर्ण, १२ रजत र ११ कास्य गरी जम्मा ४८ पदक हात पारेको छ। एथलेटिक्स, भलिबल, तेक्वान्दो, कबड्डी, उसु र कराते गरी ६ वटा विभिन्न खेल विधाहरूमा भएको प्रतिस्पर्धामा अरनिकोका खेलाडीहरूले सर्वाधिक प्रभावशाली प्रदर्शन गरेका थिए। खेलाडीहरूको कडा मेहेनत र उत्कृष्ट कौशलकै कारण विद्यालयले यस वर्षको नगरस्तरीय प्रतियोगितामा च्याम्पियनको शिल्ड उचाल्न सफल भएको हो।

प्रतियोगितामा कुलमाया भगवती माध्यमिक विद्यालयले पनि सम्मानजनक प्रदर्शन गर्दै दोस्रो स्थान हासिल गरेको छ। कुलमाया भगवतीले ८ स्वर्ण, ३ रजत र ४ कास्य गरी कुल १५ पदक प्राप्त गर्यो। त्यसैगरी, मिड भ्याली सेकेन्डरी स्कुलले ६ स्वर्ण, ५ रजत र ४ कास्य गरी जम्मा १५ पदकका साथ तेस्रो स्थानमा चित्त बुझाएको छ। सहभागी अन्य विद्यालयहरू बीच पनि कडा प्रतिस्पर्धा देखिएको थियो, जसले नगरको खेलकुद स्तर वृद्धिमा सकारात्मक सन्देश दिएको छ।
विजयी विद्यालय तथा उत्कृष्ट खेलाडीहरूलाई कार्यक्रमका प्रमुख अतिथि एवं नगर प्रमुख बासुदेव थापाले शिल्ड, पदक, प्रमाणपत्र र नगद पुरस्कार वितरण गर्नुभएको थियो। प्रतियोगितामा सामुदायिक र संस्थागत गरी कुल ३५ वटा विद्यालयका ८९६ जना खेलाडीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। नगर प्रमुख थापाले यस्ता प्रतियोगिताले विद्यार्थीहरूको शारीरिक विकासका साथै उनीहरूमा अनुशासन र सामूहिक भावनाको विकास गर्ने विश्वास व्यक्त गर्नुभयो।

