ताजा अपडेट

ट्रेन्डिङ

औद्योगिक प्रशिक्षार्थीहरूको सिकाई समीक्षा: शिक्षा र उद्योगबीचको दुरी मेटाउने नयाँ प्रयास

Gyan Khabar

ज्ञानखबर

बिहि, माघ २२, २०८२
78 पटक हेरिएको
औद्योगिक प्रशिक्षार्थीहरूको सिकाई समीक्षा: शिक्षा र उद्योगबीचको दुरी मेटाउने नयाँ प्रयास

नेपालको प्राविधिक शिक्षालाई बजारको मागसँग जोड्ने उद्देश्यका साथ होटल क्रिस्टल पशुपतिमा औद्योगिक प्रशिक्षार्थीहरूको सिकाई समीक्षा कार्यक्रम २०८२ माघ २२ गते काठमाडौंमा सम्पन्न भएको छ।

इन्स्योर (ENSSURE) परियोजना अन्तर्गत बागमती प्रदेशका बासु माध्यमिक विद्यालय र बुढानीलकण्ठ माध्यमिक विद्यालयका प्रशिक्षार्थी, शिक्षक र उद्योगीहरूबीच प्रत्यक्ष संवाद गराउने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमको संयोजन एन्स्योरका चक्रपाणि तिमल्सिनाले गर्नुभएको थियो भने कार्यक्रममा शिक्षा र उद्योग क्षेत्रका नेतृत्वदायी व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो।

प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषद्की प्रमुख कार्यकारी निर्देशक तथा कार्यक्रमकी सभापति शान्ति लामाले ‘पढ्दै, कमाउँदै र सिक्दै’ गर्ने अवधारणालाई जोड दिनुभयो। उहाँले हालको तालिम समयमा मात्र आधारित रहेको चर्चा गर्दै अब यसलाई पूर्ण रूपमा कामको दक्षतामा आधारित बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो।

युवाहरूलाई स्वदेशमै सक्षम जनशक्तिको रूपमा विकास गर्न उद्योग परिसंघसँगको सहकार्यमा पाठ्यक्रम परिमार्जन गर्ने कार्य भइरहेको जानकारी दिँदै उहाँले विद्यार्थीहरूलाई आफ्नो भूमिकाप्रति सचेत भएर सरकारी लगानीको सदुपयोग गर्न आग्रह गर्नुभयो। विशेषगरी अभिभावकको संलग्नताले विद्यार्थीको उपलब्धिमा सकारात्मक प्रभाव पार्ने उहाँको भनाइ थियो।

सामाजिक विकास मन्त्रालय, बागमती प्रदेशका उपेन्द्र राईले प्रशिक्षार्थीहरू विद्यार्थी नै भएकोले उनीहरूले गर्ने प्रगतिले नै कार्यक्रमको प्रभावकारिता झल्काउने बताउनुभयो। आर्थिक वर्ष २०८२/८३ मा बागमती प्रदेशका लागि छुट्याइएको ३०० सिटको पूर्ण उपयोग गर्दै विद्यार्थीहरू नेपालमै रोजगारी पाउन योग्य हुनुपर्नेमा उहाँले जोड दिनुभयो। विगतका परीक्षा परिणामहरूमा देखिएका कमजोरीलाई सुधार्दै उद्योगमा सिधै काम गर्न सक्ने क्षमता विकास गर्न उहाँले सबैलाई अनुरोध गर्नुभयो।

20260205 152723

त्यस्तै, बासु माध्यमिक विद्यालयका प्रधानाध्यापक रवि लाल प्रधानले उद्योगको जनशक्ति आवश्यकता र विद्यार्थीको सिक्ने चाहनाबीच तालमेल हुनुपर्ने धारणा राख्नुभयो। उहाँले विद्यार्थीहरूको नियमित उपस्थिति र कामप्रतिको लगाव नै सुधारको पहिलो सर्त भएको बताउनुभयो।

इन्स्योरका सरन मिजारले कार्यक्रमको सफलताको शुभकामना दिनुभएको थियो भने सरोज भइला र राजु ढकालले हालको पाठ्यक्रम र अभ्यासका बारेमा प्रस्तुतीकरण दिनुभएको थियो।

कार्यक्रमको उत्तरार्धमा विद्यालय, उद्योग र प्रशिक्षार्थीहरूबीच समूहगत छलफल भएको थियो, जसमा राजु ढकाल, पुनेन्द्रप्रसाद कुसी, राजन कुसी र बालकृष्ण बनमाला लगायतले आ-आफ्नो क्षेत्रको प्रतिनिधित्व गर्दै प्रस्तुतीकरण दिनुभएको थियो। यस समीक्षा कार्यक्रमले आगामी दिनमा ड्रपआउटको समस्या घटाउन, परीक्षा प्रणालीमा सुधार ल्याउन र श्रम बजारले खोजे जस्तै दक्ष जनशक्ति उत्पादन गर्न ठोस मार्गचित्र प्रदान गर्ने अपेक्षा गरिएको छ।