भक्तपुरको सूर्यविनायक नगरपालिका–६, पाण्डुबजार हाइटमा अवस्थित वि किड्स स्कुलले आयोजना गरेको साताव्यापी ‘स्पोर्टस् कार्निभल २०८२’ उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। गत माघ ११ गते आइतबारदेखि माघ १६ गते शुक्रबारसम्म सञ्चालित यस कार्निभलमा विद्यालयको ‘Explore, Learn & Grow’ भन्ने मूल मर्मलाई आत्मसात गर्दै बालबालिकाको सर्वाङ्गीण विकासका लागि विविध खेलकुद तथा मनोरञ्जनात्मक गतिविधिहरू प्रस्तुत गरिएको थियो।
कार्यक्रमको सुरुवातमा कक्षा १ देखि ४ सम्मका विद्यार्थीहरूबीच विभिन्न प्रतिस्पर्धात्मक खेलहरू आयोजना गरिएको थियो। कार्निभलको तेस्रो दिनदेखि प्रि–किड्सका साना नानीबाबुहरू र उनीहरूका अभिभावकहरूबीच रोचक खेलहरू सञ्चालन गरिए भने त्यसपछिका दिनहरूमा क्रमशः जुनियर किड्स, सिनियर किड्स र अन्तिम दिन प्ले किड्सका विद्यार्थीहरूले आफ्ना अभिभावकसँगै मैदानमा उत्रिएर खेलको मज्जा लिएका थिए। यो अनुपम अवसरमा बालबालिका मात्र होइन, अभिभावकहरू पनि उत्तिकै जोस र जाँगरका साथ सहभागी भएको देखिन्थ्यो।
कार्निभलको अन्तिम दिन विद्यार्थीहरूले आफ्नो शारीरिक सुगठन र अनुशासन झल्किने गरी कराते स्पाइरल प्रतियोगिता, ग्रेडिङ, काटा तथा टायल ब्रेकिङ जस्ता साहसिक प्रदर्शनहरू प्रस्तुत गरेका थिए। प्रत्येक दिन विद्यार्थीहरूले आकर्षक स्वागत नृत्यमार्फत अभिभावकहरूको स्वागत गरेका थिए भने विजयी अभिभावकहरूलाई मेडल प्रदान गरी सम्मान गरिएको थियो। विद्यालयले सहभागी तथा विजयी सबै विद्यार्थीहरूलाई मेडल र प्रमाणपत्रद्वारा सम्मानित गर्दै उनीहरूको हौसला बढाएको छ।

हप्ताभरि सञ्चालित यस खेल उत्सवमा जम्पिङ रेस, स्पुन रेस, म्याथम्याटिकल रेस, स्याक रेस, रनिङ रेस, पजल रेस, रिङ रेस, कलेक्टिङ बल, बेलुन ब्यालेन्सिङ, टावर मेकिङ गेम, कराते र फुटसल जस्ता विविध खेलहरू समावेश गरिएका थिए। यी खेलहरूले बालबालिकाको शारीरिक विकासका साथै उनीहरूको तार्किक र मानसिक क्षमता अभिवृद्धिमा समेत टेवा पुर्याएको विद्यालय प्रशासनले जनाएको छ।
समापन समारोहको विशेष आकर्षणको रूपमा विद्यार्थीहरूले योगा प्रदर्शनका साथै गीत र नृत्यमार्फत आफ्नो बहुआयामिक प्रतिभा प्रस्तुत गरेका थिए। अभिभावक सामु निर्धक्क भएर प्रस्तुति दिँदा बालबालिकाहरूमा विशेष उत्साह र आत्मविश्वास देखिएको थियो भने आफ्ना नानीबाबुहरूको प्रगति देखेर अभिभावकहरूले समेत निकै खुसी व्यक्त गरे।

कार्यक्रमको समापन गर्दै विद्यालयकी प्रिन्सिपल मञ्जु दुवालले खेलकुदले विद्यार्थीको शारीरिक, मानसिक र व्यक्तित्व विकासमा खेल्ने भूमिकाबारे प्रकाश पार्नुभयो। उहाँले ग्रेडिङमा सफल विद्यार्थीहरूलाई बधाई दिँदै विद्यालयको यो शैक्षिक यात्रामा निरन्तर साथ दिने शिक्षक, अभिभावक र सरोकारवालाहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो। यसरी सम्पन्न भएको वि किड्स स्पोर्टस् कार्निभलले विद्यार्थीहरूमा अनुशासन, सहकार्य र सिकाइको महत्वलाई थप प्रगाढ बनाएको छ।
