काठमाडौं, गोकर्णेश्वर–४, उत्तरबाहिनीस्थित शुभकामना स्कुलले आफ्नो वार्षिक खेलकुद क्यालेन्डर अन्तर्गत ‘जुनियर तेक्वान्दो ग्रेडिङ तथा बेल्ट प्रमोशन कार्यक्रम–२०८२’ भव्य, अनुशासित र सफलतापूर्वक सम्पन्न गरेको छ। विद्यालय प्राङ्गणमा आयोजित उक्त समारोहमा सहभागी विद्यार्थीहरूले आफ्नो निरन्तरको अभ्यास, कडा मेहनत र उच्च अनुशासनको प्रतिफल स्वरूप नयाँ बेल्ट प्राप्त गरेका छन्।
विद्यालयकी प्रिन्सिपल श्रीमती सुमित्रा धिमालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा श्री जयराम महतको गरिमामय उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि महतले शुभकामना स्कुलले छोटो अवधिमै शिक्षा, खेलकुद र विद्यार्थीको समग्र विकासमा मारेको छलाङ लोभलाग्दो रहेको बताउनुभयो। विद्यालयको कुशल व्यवस्थापन, शिक्षकहरूको समर्पण र विद्यार्थीहरूमा देखिएको संस्कारयुक्त अनुशासनले यो संस्थालाई छिट्टै नयाँ उचाइमा पुर्याउने विश्वास उहाँले व्यक्त गर्नुभयो।

समारोहमा नेपाल तेक्वान्दो क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो। नेपाल तेक्वान्दो संघका केन्द्रीय महासचिव श्री हेमन्त डाँगी, केन्द्रीय सदस्य एवं राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य श्री कुमार लामा घिसिङ, केन्द्रीय सदस्य तथा अन्तर्राष्ट्रिय निर्णायक श्री बब्लु सिवाकोटी, र समाजसेवी श्री प्रेम भण्डारी लगायतले विद्यार्थीहरूको हौसला बढाउनुभएको थियो। त्यस्तै, अन्तर्राष्ट्रिय रेफ्री एवं राष्ट्रिय खेलाडी नोर्बु मोक्तान र वरिष्ठ खेलकुद पत्रकार बिष्णु थापाको उपस्थितिले कार्यक्रमको गरिमा थप बढाएको थियो।
कार्यक्रमको सुरुवातमा शुभकामना स्कुलका अध्यक्ष श्री प्रकाश अधिकारीले स्वागत मन्तव्य राख्दै विद्यालयको उद्देश्य केवल किताबी ज्ञान मात्र नभई विद्यार्थीलाई शारीरिक र मानसिक रूपमा पनि सबल बनाउनु रहेको बताउनुभयो। सो अवसरमा महासचिव हेमन्त डाँगी र गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद विकास समितिका अध्यक्ष सन्जय लामाले प्रेरणादायी मन्तव्य राख्दै तेक्वान्दोले आत्मरक्षासँगै आत्मसंयम पनि सिकाउने उल्लेख गर्नुभयो।

कार्यक्रमका क्रममा उपस्थित अतिथिहरूलाई विद्यालयको तर्फबाट विशेष सम्मान–पत्र प्रदान गरी सम्मान गरिएको थियो। औपचारिक सत्रको समापन गर्दै सभापति श्रीमती सुमित्रा धिमालले तेक्वान्दो जस्ता मार्सल आर्ट्सले विद्यार्थीको नैतिक चरित्र निर्माणमा ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। विद्यालयले आगामी दिनमा पनि यस्ता प्रवद्र्धनात्मक खेल गतिविधिहरूलाई अझ परिष्कृत र निरन्तरता दिने प्रतिबद्धता जनाउँदै सफल ग्रेडिङ पूरा गर्ने सम्पूर्ण विद्यार्थीहरूलाई बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेको छ।