वीरगञ्जस्थित मधेश विश्वविद्यालयका उपकुलपति प्रा.डा. दिपक शाक्य नेतृत्वको प्रतिनिधिमण्डलले २०८२ माघ २७ गते भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग नगर सभाकक्षमा विशेष भेटघाट गरेको छ। जनसम्पर्क विषय अध्ययनरत विद्यार्थीसहितको उक्त टोली भक्तपुरको शिक्षा, स्वास्थ्य र सम्पदा क्षेत्रको अध्ययन भ्रमणका लागि यहाँ आएको हो। नगर प्रमुख प्रजापतिले टोलीलाई परम्परागत भादगाउँले टोपी र खादा ओढाएर भव्य स्वागत गर्नुभयो।
भेटका क्रममा नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले माध्यमिक तहको जिम्मेवारी पाएपछि शिक्षा क्षेत्रमा अनुकरणीय कार्य गरेको चर्चा गर्नुभयो। उहाँले ‘एक घर एक स्नातक’ को अवधारणाले नगरको विकासलाई द्रूत गति दिएको बताउँदै नगरपालिकाले शैक्षिक ऋण र छात्रवृत्ति मार्फत न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिरहेको जानकारी दिनुभयो। देशभरिका विद्यार्थीहरू भक्तपुरमा अध्ययनरत रहेको उल्लेख गर्दै उहाँले सस्तोमा चिकित्सक उत्पादन गर्न नगरपालिकाले आफ्नै विश्वविद्यालय सञ्चालनको माग गरिरहेको समेत स्पष्ट पार्नुभयो।
उपकुलपति प्रा.डा. दिपक शाक्यले भक्तपुर नगरपालिकाको उदाहरणीय कार्यहरूबाट आफ्ना विद्यार्थीहरूलाई सिकाउने उद्देश्यले यो भ्रमण आयोजना गरिएको बताउनुभयो। उहाँले मधेश विश्वविद्यालयले पनि एक घर एक स्नातककै लक्ष्य राखेर हाल बीए.एल.एल.बी. र बी.पी.ए. विषयहरू सञ्चालन गरिरहेको जानकारी दिनुभयो। शिक्षण पेसामा आकर्षण घट्दै जाँदा उत्पन्न शिक्षक अभावप्रति चिन्ता व्यक्त गर्दै उहाँले विश्वविद्यालयहरूबीच आपसी सहकार्य र स्वस्थ प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिनुभयो।

भेटघाटको समापनमा नगर प्रमुख प्रजापतिले उपकुलपति शाक्यलाई मयुरको झ्याल र नगरपालिकाका विभिन्न प्रकाशनहरू उपहार स्वरूप प्रदान गर्नुभयो। छलफलपश्चात् प्रतिनिधिमण्डलले नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज, ख्वप मावि, ख्वप कलेज अफ ल, ख्वप अस्पताल र ख्वप इन्जिनियरिङ कलेजको स्थलगत अवलोकन गरी त्यहाँका सेवासुविधाहरूबारे विस्तृत जानकारी लिएको थियो।