ताजा अपडेट

ट्रेन्डिङ

काठमाडौँ महानगरको ‘साना डाक्टर’ अभियान: विद्यालयबाटै स्वास्थ्य सचेतनाको नयाँ लहर

Gyan Khabar

ज्ञानखबर

बिहि, माघ २९, २०८२
150 पटक हेरिएको
काठमाडौँ महानगरको ‘साना डाक्टर’ अभियान: विद्यालयबाटै स्वास्थ्य सचेतनाको नयाँ लहर

काठमाडौँ महानगरपालिकाले बालबालिकाहरूमा निरोगात्मक स्वास्थ्य शिक्षा प्रवर्धन गर्ने उद्देश्यले चारवटा सामुदायिक विद्यालयमा नमुनाका रूपमा ‘साना डाक्टर’ कार्यक्रम सुरु गर्ने भएको छ। बुधबार आयोजित एक विशेष कार्यशालामा महानगरले यस कार्यक्रमको अवधारणा र कार्यान्वयन रणनीतिका विषयमा सरोकारवालाहरूसँग विस्तृत छलफल गरेको हो।

कार्यशालालाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख सुनिता डंगोलले स्वास्थ्य सचेतना अभिवृद्धि गर्न र बालबालिका बिचको सह-सिकाइका लागि यो विधि निकै उपयुक्त भएको बताउनुभयो। उहाँले यो कार्यक्रमलाई विद्यालयमा बोझका रूपमा नभई एक आवश्यक अभियानका रूपमा लैजान निर्देशन दिनुभयो। सामुदायिक विद्यालयहरूमा यसको सफल परीक्षणपछि संस्थागत विद्यालयहरूमा पनि यो कार्यक्रम विस्तार गर्ने महानगरको दीर्घकालीन योजना रहेको छ।

यस कार्यक्रम अन्तर्गत विद्यालयमा अध्ययनरत छात्रछात्राहरूलाई स्वास्थ्यका विभिन्न आयाममा प्रशिक्षित गराएर ‘स्वास्थ्य दूत’ का रूपमा विकास गरिनेछ। प्रत्येक विद्यालयमा गठन गरिने स्वास्थ्य क्लबमा १५ देखि २० जना विद्यार्थीहरू सहभागी हुनेछन्। सहभागी विद्यार्थीहरूलाई व्यक्तिगत सरसफाइ, पोषण, जीवनशैली, मानसिक स्वास्थ्य र प्राथमिक उपचार जस्ता पाँच मुख्य विषयमा केन्द्रित रहेर तीन महिनाको विशेष तालिम दिइनेछ।

तालिम प्राप्त गरेपछि बाँकी नौ महिना विद्यार्थीहरूले समूहगत रूपमा विद्यालय, आफ्नो परिवार र समुदायमा स्वास्थ्य सचेतनाका गतिविधिहरू सञ्चालन गर्नेछन्। महानगरको स्वास्थ्य र शिक्षा विभागले यसलाई ‘पुस्तकरहित शुक्रबार’ सँग जोडेर अझ प्रभावकारी बनाउने लक्ष्य राखेका छन्। यो अभियानले बालबालिकामा स्वास्थ्य सम्बन्धी आत्मविश्वास बढाउनुका साथै भविष्यमा स्वस्थ नागरिक तयार पार्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।