मध्यपुर थिमीस्थित विनायक शिक्षा निकेतनले आफ्नो ३७ औँ वार्षिकोत्सवको पावन अवसरमा ‘विनायक शैक्षिक प्रदर्शनी २०८२’ भव्यताका साथ सम्पन्न गरेको छ।
काठमाडौँ विश्वविद्यालयका उपप्राध्यापक डा. चेतनाथ पन्तले एक विशेष समारोहका बीच उक्त प्रदर्शनीको समुद्घाटन गर्नुभएको हो। समुद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा. पन्तले यस्ता प्रदर्शनीहरूले विद्यार्थीहरूको सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रूप दिन मद्दत गर्ने र उनीहरूको सिकाई क्षमता तथा शिक्षाको गुणस्तरमा उल्लेख्य वृद्धि गर्ने धारणा व्यक्त गर्नुभयो।
विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले प्रदर्शनीको बारेमा जानकारी दिँदै विद्यालयले विगत केही वर्षदेखि विद्यार्थीहरूलाई आधुनिक ‘स्टीम एप्रोच’ (STEAM Approach) मार्फत पठनपाठन गराउँदै आएको बताउनुभयो। सोही अवधारणा अनुरूप प्रदर्शनीमा प्रि-स्कुलदेखि माध्यमिक तहसम्मका विद्यार्थीहरूले तयार पारेका विज्ञान, गणित, कम्प्युटर र रोबोटिक्ससँग सम्बन्धित परियोजनाहरू प्रदर्शन गरिएको थियो। साथै सामाजिक शिक्षा, स्थानीय पाठ्यक्रम, अंग्रेजी र नेपाली भाषाका साथै स्थानीय मौलिक कला-संस्कृति झल्काउने बाजागाजाहरू सहित १०० भन्दा बढी विभिन्न विधाका प्रदर्शनी कक्षहरू राखिएका थिए।

शैक्षिक प्रदर्शनीको साथसाथै विद्यार्थीहरूको आन्तरिक प्रतिभालाई उजागर गर्ने उद्देश्यले विद्यालयले एकल गायन प्रतियोगिताको पनि आयोजना गरेको थियो। सय जनाभन्दा बढी विद्यार्थीहरू प्रारम्भिक चरणमा सहभागी भएको यस प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा १० जना उत्कृष्ट प्रतिभाहरूबीच भएको थियो। निकै प्रतिस्पर्धात्मक गायन प्रतियोगितामा क्रिस्टिना धौबन्जा प्रथम हुन सफल हुनुभयो भने प्रकृति सिंह ठकुरीले दोस्रो र रियानसी श्रेष्ठले तेस्रो स्थान हासिल गर्नुभयो।

विजयी विद्यार्थीहरूलाई मध्यपुर थिमी नगरपालिका वडा नम्बर ६ का वडा सदस्य अरुणा कारजितले ट्रफी तथा प्रशंसा-पत्र वितरण गर्दै उनीहरूको उज्ज्वल भविष्यको कामना गर्नुभएको थियो। झन्डै एक हजारभन्दा बढी अभिभावक, विद्यार्थी र शुभचिन्तकहरूले अवलोकन गरेको उक्त प्रदर्शनीलाई भव्य रूपमा सफल बनाउन सहयोग गर्ने शिक्षक, कर्मचारी र अभिभावकहरूलाई प्रिन्सिपल प्रजापतिले विशेष धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले विद्यार्थीहरूको चौतर्फी विकासका लागि यस्ता रचनात्मक र शैक्षिक प्रदर्शनीहरूलाई प्रत्येक वर्ष निरन्तरता दिइने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।