संस्थागत विद्यालय संघ नेपाल (इसान) को आयोजनामा फागुन १ गते शुक्रबारका दिन बृहत् शैक्षिक भेला सम्पन्न भएको छ। नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालको प्रमुख आतिथ्यतामा सञ्चालित उक्त कार्यक्रममा शिक्षाको महत्व र वर्तमान राजनीतिक संकटबारे घनीभूत छलफल भयो।
प्रमुख अतिथि सुवालले शिक्षकहरूलाई समाजका ‘डाक्टर’ का रूपमा चित्रण गर्दै समाजलाई सही मार्गमा डोर्याउन उनीहरूको भूमिका अग्रणी रहने बताउनुभयो। उहाँले देशको वर्तमान राजनीतिक अवस्था चुनौतीपूर्ण रहेको र सरकार सञ्चालनमा रहेका दलहरूको अदूरदर्शिताले जनता दुर्गति भोग्न बाध्य भएको टिप्पणी गर्नुभयो। सरकारका गलत नीतिहरूको विरोध गर्न र सही सल्लाह दिन संसदमा सशक्त प्रतिपक्षको आवश्यकता औंल्याउँदै उहाँले सही प्रतिनिधि चयन गर्नुपर्ने बताऊनुभयो।
त्यसैगरी, बागमती प्रदेशका सांसद सुरेन्द्र राज गोसाईले शिक्षकहरू समाजको चिरफार गर्न सक्ने सक्षम व्यक्ति भएको र भविष्यका कर्णधार तयार पार्ने जिम्मेवारी उनीहरूकै काँधमा रहेको बताउनुभयो। गलत पाठ्यपुस्तकका माध्यमबाट सही नागरिक निर्माण हुन नसक्ने तर्क गर्दै उहाँले शिक्षाको गुणस्तर र सही नेतृत्व चयनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा इसानका केन्द्रीय कोषाध्यक्ष उकेश कवाँले स्वागत मन्तव्य राख्दै देशको बदलिँदो परिस्थिति र ‘जेन्जी’ आन्दोलनपछिको जटिलताबारे चर्चा गर्नुभयो। इसानका केन्द्रीय अध्यक्ष प्रेम जन थापाको सभापतित्वमा सम्पन्न भएको उक्त भेलाको सञ्चालन संस्थाका केन्द्रीय महासचिव पुरुषोत्तम ग्वाछाले गर्नुभएको थियो।