बालबालिकाको अन्तर्निहित प्रतिभा प्रस्फुटन र प्रारम्भिक शिक्षाको प्रवर्द्धन गर्ने उद्देश्यका साथ गोकर्णेश्वरमा आयोजित ‘दोस्रो गोकर्णेश्वर अपेन किड्स कार्निभल २०८२’ शनिबार सुन्दरीजलमा भव्य रूपमा सम्पन्न भएको छ। एसोसिएसन अफ प्रि-स्कुल एजुकेटर्स नेपाल (अपेन), गोकर्णेश्वर नगर समितिको आयोजनामा सुन्दरीजलस्थित बीपी संग्रहालयको प्राङ्गणमा आयोजित उक्त महोत्सवमा नगरका १८ वटा विद्यालयहरूको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रम गोकर्णेश्वर नगरपालिकाका मेयर ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा उपप्रमुख, विशेष अतिथिका रूपमा अपेन केन्द्रका महासचिव तथा बीपी संग्रहालयका अध्यक्ष लगायत विभिन्न विद्यालयका प्रिन्सिपल, संघ–संस्थाका प्रतिनिधि, शिक्षक–कर्मचारी, अभिभावक तथा साना विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। बालबालिकाहरूको प्रतिभालाई उजागर गर्ने यो महोत्सवले शिक्षा र मनोरञ्जनलाई एकैसाथ जोड्ने प्रयास गरेको छ।
कार्निभलमा नानीबाबुहरूले नन–स्टप स्टेज प्रस्तुति, ट्यालेन्ट शो र आर्ट कम्पिटिसन जस्ता सिर्जनात्मक गतिविधिहरूमा आफ्नो कला प्रदर्शन गरेका थिए। साथै महोत्सवमा फुड फेस्टिवल, मनोरञ्जनात्मक खेलकुद, पोटरी र बम्पर पुरस्कार जस्ता विविध आकर्षणहरू राखिएका थिए। बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राख्दै आयोजकले नि:शुल्क आँखा तथा दन्त शिविरको समेत व्यवस्था गरेको थियो। आर्ट कम्पिटिसनमा प्रथम, द्वितीय, तृतीय र चौथो स्थान हासिल गर्ने विद्यार्थीहरूलाई सोही अवसरमा पुरस्कार वितरण गरिएको थियो।
यसै विशेष अवसरमा अपेन गोकर्णेश्वरका संस्थापक अध्यक्षलाई उहाँको कार्यकालमा संस्थामा पुर्याउनुभएको अनुकरणीय योगदानको उच्च कदर गर्दै संस्थाको ‘अभिभावक’ को रूपमा विशेष सम्मान गरिएको थियो। साथै, अपेन सदस्य विद्यालयमा लामो समयदेखि कार्यरत एक जना शिक्षकलाई ‘शिक्षक सम्मान कार्यक्रम’ अन्तर्गत विशेष सम्मान प्रदान गरियो। आयोजक संस्थाले कार्यक्रम सफल बनाउन सहयोग गर्ने प्रमुख अतिथि, विशिष्ट अतिथि, सहयोगी संघ–संस्था, बीपी संग्रहालय परिवार तथा पत्रकारहरूलाई हार्दिक धन्यवाद व्यक्त गरेको छ।
संस्थापक अध्यक्ष प्रकाश अधिकारी लाई सम्मान र कार्यक्रम अपेन नगर कार्य समितिका अध्यक्ष लक्ष्मी पुडासैनीको अध्यक्षतामा र कार्यक्रमको संयोजन सजनी रिजाल र सरिता श्रेष्ठले गर्नुभएको थियो।
अपेन गोकर्णेश्वरका अनुसार यो दोस्रो संस्करणको कार्निभल बालबालिकाको प्रतिभा प्रस्फुटन, विद्यालयहरूबीचको आपसी समन्वय तथा प्रारम्भिक शिक्षाको प्रवर्द्धनमा एउटा महत्वपूर्ण उपलब्धि साबित भएको छ। यसले भविष्यमा पनि बालबालिकाहरूलाई यस्ता सिर्जनात्मक प्लेटफर्म उपलब्ध गराउन थप उर्जा प्रदान गरेको आयोजकको ठम्याइ छ।