इडेन गार्डेन इङ्ग्लिस स्कुलले आफ्नो स्थापनाको १८औँ वार्षिकोत्सव, अभिभावक दिवस तथा सम्मान कार्यक्रम एक भव्य र उत्साहपूर्ण समारोहका बीच सम्पन्न गरेको छ। विद्यालयका प्रधानाध्यापक जय प्रकाश राईको सभापतित्वमा आयोजित उक्त विशेष कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति एवं वरिष्ठ कवि भूपाल राई प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रमले विद्यालय, अभिभावक र विद्यार्थीबीचको त्रिकोणात्मक सम्बन्धलाई थप सुदृढ बनाएको विश्वास गरिएको छ।
समारोहको मुख्य आकर्षणका रूपमा विद्यार्थीहरूको सम्मान कार्यक्रम रहेको थियो। माध्यमिक शिक्षा परीक्षा (एस.इ.इ.) २०८१ मा उत्कृष्ट ४.० जी.पी.ए. प्राप्त गरी विद्यालयको गौरव बढाउन सफल छात्रा सुप्रिया चौलागाईलाई नगद रु. १,००,०००/- (एक लाख रुपैयाँ) र सम्मानपत्रसहित विशेष सम्मान गरियो। त्यसैगरी, नेपालको चर्चित गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ का सेमिफाइनलिस्ट भाई श्रीजय महतलाई पनि नगद रु. १०,०००/- सहित सम्मान गरियो, जसले विद्यालयको अतिरिक्त क्रियाकलापमा रहेको अब्बल उपस्थितिलाई पुष्टि गरेको छ। शैक्षिक सत्र २०८१ मा कक्षा ३ देखि ९ सम्म उत्कृष्ट नतिजा ल्याउने २४ जना, विभिन्न विधागत उत्कृष्ट १८ जना र वर्षभरिका विभिन्न अन्तरविद्यालय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने ५९ जना विद्यार्थीहरूलाई पनि पदक तथा सम्मानपत्र प्रदान गरिएको थियो।
दीर्घ सेवा सम्मानअन्तर्गत शिक्षक भावना राई र सहयोगी कर्मचारी सलिजा बस्नेतलाई उहाँहरूको समर्पण र निष्ठाको कदरस्वरूप सम्मान गरियो। नेतृत्वदायी भूमिकामा रहेका स्कुल क्याप्टेन र भाइस क्याप्टेनका साथै मिडिया पार्टनरका रूपमा निरन्तर सहकार्य गर्दै आएको नमस्ते ख्वप्प टेलिभिजनलाई समेत प्रशंसा पत्र प्रदान गर्दै आभार व्यक्त गरियो। प्रमुख अतिथि भूपाल राईले मन्तव्यका क्रममा विद्यालयले हासिल गरेको शैक्षिक उत्कृष्टता, अनुशासन र अतिरिक्त क्रियाकलापमा प्राप्त उपलब्धिको मुक्तकण्ठले प्रशंसा गर्नुभयो। विशेष अतिथि तथा सूर्यविनायक नगरपालिका शिक्षा शाखा प्रमुख रत्न बहादुर कटुवालले यस विद्यालयले नगरभित्र एक नमूना शैक्षिक संस्थाको पहिचान बनाएको उल्लेख गर्नुभयो।
कक्षा ४ देखि १० सम्मका करिब ५५० जना अभिभावकहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गायन, नाटक, वाद्यवादन, मार्सल आर्ट तथा स्काउटका अनुशासित र आकर्षक प्रस्तुतिहरू प्रदर्शन गरेका थिए। विशिष्ट अतिथिहरू प्रा. डा. धन प्रसाद सुवेदी, घनश्याम भट्टराई, संजय खड्का, चन्द्र न्यौपाने, मोहन रेग्मी र जि.बी. खड्का लगायतले कार्यक्रमको भव्यता र सफलताको प्रशंसा गर्दै शुभकामना व्यक्त गर्नुभयो। संगीत, नृत्य, र नाटक प्रशिक्षकहरूसहित सम्पूर्ण शिक्षक–कर्मचारीको अहोरात्र खटाईप्रति विद्यालय परिवारले कृतज्ञता प्रकट गरेको छ। जुनियर तह अर्थात् प्रि-नर्सरीदेखि कक्षा ३ सम्मको अभिभावक दिवस भने आगामी चैत्र ७ गते आयोजना गरिने जानकारी भाइस प्रिन्सिपल अनिश राईले दिनुभएको छ।