ताजा अपडेट

ट्रेन्डिङ

पाथिभरा एकेडेमीमा विज्ञान र प्रविधिको उत्सव: रोबोटिक्समा क्वालिटी र विमल मेमोरियलको बर्चस्व

Gyan Khabar

ज्ञानखबर

आइत, चैत्र १, २०८२
866 पटक हेरिएको
पाथिभरा एकेडेमीमा विज्ञान र प्रविधिको उत्सव: रोबोटिक्समा क्वालिटी र विमल मेमोरियलको बर्चस्व

नेसनल प्याब्सन भक्तपुरको वार्षिक कार्यक्रम अन्तर्गत पाथिभरा एकेडेमी स्कुलको व्यवस्थापनमा आयोजित ‘साइन्स एण्ड रोबोटिक्स एक्जिबिसन २०८२’ भव्य रूपमा सम्पन्न भएको छ। विद्यार्थीहरूमा वैज्ञानिक चेतना जगाउने र नवीनतम् प्रविधिसँग साक्षात्कार गराउने उद्देश्यका साथ आयोजना गरिएको उक्त प्रतियोगिता दुई छुट्टाछुट्टै श्रेणीमा सञ्चालन गरिएको थियो।

प्रतियोगिताको आधारभूत तह तर्फ क्वालिटी स्कुलले उपाधि चुम्न सफल भएको छ भने विमल मेमोरियल स्कुल प्रथम उपविजेता बनेको छ। त्यसैगरी मदरल्याण्ड र संस्कार गुरूकुल स्कुलका विद्यार्थी समूहहरूले संयुक्त रूपमा दोस्रो उपविजेताको स्थान हासिल गरेका छन्। माध्यमिक तहको प्रतिस्पर्धामा भने विमल मेमोरियल स्कुलले उत्कृष्ट प्रदर्शन गर्दै विजेताको उपाधि हात पार्न सफल भयो। सोही तहमा संस्कार गुरूकूल प्रथम उपविजेता र मदरल्याण्ड स्कुल दोस्रो उपविजेता घोषित भएका छन्।

पाथिभरा एकेडेमीका प्रिन्सिपल रमेश प्रसाद सिटौलाको सभापतित्वमा सम्पन्न उक्त विशेष समारोहमा प्रमुख अतिथिको आसनबाट सूर्यविनायक नगरपालिका शिक्षा शाखा प्रमुख रत्न कटवालले विजयी विद्यार्थीहरूलाई पुरस्कार तथा प्रशंसापत्र वितरण गर्नुभएको थियो। आजको विज्ञान र प्रविधिको युगमा विद्यार्थीहरूलाई अनुसन्धान र आविष्कार तर्फ डोर्‍याउँदै विश्व बजारका लागि सक्षम जनशक्ति तयार पार्न यस्ता कार्यक्रमले ठूलो ऊर्जा प्रदान गर्ने विश्वास कार्यक्रममा व्यक्त गरिएको थियो।

नेसनल प्याब्सन भक्तपुरका अध्यक्ष संजय खड्काले पाथिभरा एकेडेमीले देखाएको सक्रियता र उत्कृष्ट व्यवस्थापनको प्रशंसा गर्दै यस कार्यक्रम शैक्षिक वर्ष २०८२ को अन्तिम र सफल कार्यक्रम रहेको जानकारी दिनुभयो। उहाँले जिल्लाभरका आबद्ध सदस्य विद्यालयहरूलाई वर्षभरि सञ्चालन गरिएका विभिन्न रचनात्मक क्रियाकलापमा देखाएको सहभागिता र सहयोगका लागि आभार व्यक्त गर्दै आगामी वर्षहरूमा पनि यस्तै सहकार्यको अपेक्षा राख्नुभयो।