भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ५, पकुनेपाटीस्थित साईनिङ्ग ईङ्गलिस सेकेन्डरी स्कुलले आफ्नो स्थापनाको ३३ औँ वसन्त पार गरेको अवसरमा वार्षिक उत्सव तथा पुरस्कार वितरण समारोह भव्य रूपमा सम्पन्न गरेको छ। “शत प्रतिशत साक्षर भक्तपुरको पहिचान, गुणस्तरीय शिक्षामा साईनिङ्गको अभियान” भन्ने मूल नाराका साथ आयोजित उक्त कार्यक्रममा शैक्षिक तथा सांस्कृतिक गतिविधिहरूको रोचक प्रस्तुति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि एवं नेसनल प्याब्सनका केन्द्रीय पूर्व अध्यक्ष कर्णबहादुर शाहीले दीप प्रज्वलन गरी समारोहको समुद्घाटन गर्नुभएको थियो। सो अवसरमा बोल्दै शाहीले साईनिङ्ग स्कुलले भक्तपुरको शैक्षिक क्षेत्रमा एक नमुना र उत्कृष्ट विद्यालयको पहिचान बनाएको बताउनुभयो। उहाँले गुणस्तरीय शिक्षाको दिगो विकासका लागि शिक्षकहरूलाई समयसापेक्ष तालिमको आवश्यकता रहेको औँल्याउँदै SEE २०८१ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई कदरपत्र प्रदान गर्नुभयो।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा उपस्थित चाँगुनारायण नगरपालिका वडा नं. ३ का अध्यक्ष श्याम सुन्दर धिमाल र वडा नं. ४ का अध्यक्ष रोजबहादुर तामाङले शिक्षा क्षेत्रमा रहेको विभेद र खाडललाई पुर्नुपर्नेमा जोड दिनुभयो। उहाँहरूले स्थानीय सरकारले शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

यसैगरी, विद्यालय सञ्चालक समितिका अध्यक्ष विक्रम ढुकुछुले विद्यालयले भौतिक पूर्वाधारका साथै अतिरिक्त क्रियाकलाप र प्रविधिमैत्री शिक्षा मार्फत विद्यार्थीहरूको क्षमता अभिवृद्धि गरिरहेको जानकारी दिनुभयो। उहाँले भक्तपुरको उत्तरी भेगमा स्तरीय शिक्षा प्रदान गर्नु नै विद्यालयको मुख्य लक्ष्य रहेको स्पष्ट पार्नुभयो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यबहादुर फौजुको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विद्यालयको प्रगतिमा महत्त्वपूर्ण योगदान पुर्याउने शिक्षक तथा अभिभावकहरूलाई सम्मान गरिएको थियो। उत्कृष्ट शिक्षक तर्फ लक्ष्मी फौजु, रामहरी पराजुली र सजिना दुवाल सम्मानित हुनुभएको छ भने विभिन्न विधामा उत्कृष्ट अभिभावकहरूलाई पनि कदरपत्र प्रदान गरिएको थियो।
वार्षिकोत्सवको विशेष आकर्षणका रूपमा विद्यार्थीहरूको बेजोड सांस्कृतिक प्रस्तुति रहेको थियो। कार्यक्रममा चर्चित गायक तथा रचनाकार कपिल कस्पालको साङ्गीतिक प्रस्तुति र जादुगर राजेन्द्र गिरीको टिमले देखाएको जादुका विभिन्न कलाहरूले अभिभावक र विद्यार्थीहरूलाई भरपूर मनोरञ्जन प्रदान गरेको थियो।
कार्यक्रममा नेसनल प्याब्सनका केन्द्रीय उपाध्यक्ष कुमार भट्टराई, भक्तपुर अध्यक्ष पुण्यराम कंवा, इप्सन अध्यक्ष जीबी खड्का, उत्प्रेरक तुलसी हरि प्रजापति लगायत सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। सहभागी वक्ताहरूले विद्यालयले पुर्याएको शैक्षिक योगदानको खुलेर प्रशंसा गरेका थिए।