ताजा अपडेट

ट्रेन्डिङ

महानगर र वीर अस्पतालबीच निःशुल्क क्यान्सर परीक्षण सम्झौता: महिलाहरूलाई ठूलो राहत

Gyan Khabar

ज्ञानखबर

मङ्ल, चैत्र ३, २०८२
343 पटक हेरिएको
महानगर र वीर अस्पतालबीच निःशुल्क क्यान्सर परीक्षण सम्झौता: महिलाहरूलाई ठूलो राहत

काठमाडौँ महानगरपालिका र वीर अस्पतालबीच महिलाहरूको स्तन तथा पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण र प्रारम्भिक उपचारका लागि औपचारिक सम्झौता भएको छ। महानगरका कार्यवाहक प्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको रोहवरमा स्वास्थ्य विभागका प्रमुख दिपककुमार के. सी. र अस्पतालका निर्देशक प्रा. डा. दिलिप शर्माले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो। क्यान्सर जस्तो नसर्ने रोगको समयमै पहिचान गरी ज्यान जोगाउने उद्देश्यले यो सहकार्य सुरु गरिएको हो।

कार्यवाहक प्रमुख डंगोलले कामकाजी महिला र गृहिणीहरूको समय व्यवस्थापनलाई ध्यानमा राखी सहज परीक्षण तालिका बनाउन र अपाङ्गता भएका महिलाहरूलाई विशेष प्राथमिकता दिन निर्देशन दिनुभयो। उहाँले क्यान्सरबारे रहेका भ्रमहरू चिर्दै नियमित परीक्षणका लागि सबै महिलाको पहुँच विस्तार गर्नुपर्नेमा जोड दिनुभयो। यस्तै अस्पतालका निर्देशक प्रा. डा. शर्माले लक्षण नदेखिए पनि परीक्षण गराउने बानी बसाल्नुपर्ने बताउँदै सेवालाई उच्च स्तरीय र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

स्वास्थ्य विभागका अनुसार यो सेवा आगामी चैत १६ गतेदेखि ३० देखि ६० वर्ष उमेर समूहका महिलाहरूका लागि उपलब्ध हुनेछ। दैनिक १२० जनासम्मको परीक्षण गर्ने लक्ष्य राखिएको यस कार्यक्रममा सहभागी हुन महिलाहरूले सुरुमा आफ्नो नजिकैको स्वास्थ्य प्रवर्धन केन्द्रमा विवरण टिपाएर ‘रेफरल स्लिप’ लिनुपर्नेछ। परीक्षणका क्रममा स्तनको क्लिनिकल जाँच, अल्ट्रासाउन्ड र म्यामोग्राफीका साथै पाठेघरको मुखको क्यान्सरका लागि एचपीभी डीएनए पिसिआर, कल्पोस्कोपी र बायोप्सी जस्ता सेवाहरू निःशुल्क प्रदान गरिनेछ।