ऐतिहासिक नगर भक्तपुरका पुराना गल्ली र सम्पदाहरू आज शनिबार बिहान फरक रौनकले भरिएका थिए। हातमा जनस्वास्थ्यका प्लेकार्ड र ओठमा “क्षयरोग अन्त्य गरौँ” भन्ने संकल्प बोकेर सयौँ युवाहरू सडकमा ओर्लिएका थिए। नेपाल पब्लिक हेल्थ स्टुडेन्ट सोसाइटी र राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको संयुक्त पहलमा आयोजित यो पदयात्रा केवल हिँडाइ मात्र थिएन, यो स्वास्थ्य र सम्पदालाई जोड्ने एउटा विशेष अभियान थियो।
बिहानको मिर्मिरेमै युवाहरूको टोली मध्यपुर थिमीस्थित खोलामाथि बनेको पुलबाट यात्रा सुरु गरेका थिए। यात्रा अघि बढ्दै जाँदा टोलीले तीनवटा आकाशे पुल र हनुमन्ते खोलाका दुईवटा पुलहरू पार गर्यो। हनुमन्तेको पुलमा पुग्दा युवाहरूले नाचगान र उत्साहपूर्ण नाराबाजी गर्दै माहोललाई थप ऊर्जावान् बनाएका थिए।
दयात्राको क्रममा विद्यार्थीहरूले स्वास्थ्य संस्थाको इतिहास र वर्तमान अवस्थाबारे जानकारी समेत आदानप्रदान गरे। न्हुपुखु क्षेत्रमा पुग्दा विगतमा नेपाली सेनाको जनस्वास्थ्य केन्द्र रहेको स्थानलाई जनस्वास्थ्य क्याम्पस बनाउने योजना अधुरो रहेको र हाल माइक्रोबायोलोजी मात्र पढाइ भइरहेकोमा विद्यार्थीहरूले चासो व्यक्त गरे। त्यस्तै, सिद्ध पोखरी नजिकैको भक्तपुर अस्पताल, क्यान्सर अस्पताल र मानव अङ्ग प्रत्यारोपण केन्द्र पुग्दा भविष्यका स्वास्थ्यकर्मीहरूको उत्साह हेर्नलायक थियो। धेरै विद्यार्थीहरूले भविष्यमा यिनै केन्द्रमा रहेर देशको सेवा गर्ने सपना सुनाए।
भक्तपुरका ऐतिहासिक पोखरीहरू यो अभियानका मुख्य साक्षी बने। भाज्या पुखु क्षेत्रमा रहेको अहेब तालिम केन्द्रले ग्रामीण नेपालका लागि दक्ष जनशक्ति उत्पादन गरिरहेकोमा टोलीले प्रशंसा गर्यो। यद्यपि, न्हुपुखु क्षेत्रमा सडकमा गरिएका अव्यवस्थित पार्किङले पैदलयात्रीलाई हिँड्न कठिनाइ भइरहेको भन्दै उनीहरूले ध्यानाकर्षण गराए। ख्वप लायकु नजिकैको पोखरीमा पुगेर यात्रा समापन हुँदै गर्दा क्षयरोग निवारणका उपायहरूबारे गम्भीर छलफल गरिएको थियो।
कार्यक्रमको अन्त्यमा सहभागीहरूले क्षयरोग नियन्त्रण केन्द्र पछिल्लो समय सुनसान हुँदै गएकोमा चिन्ता व्यक्त गरे। उनीहरूले यो केन्द्रलाई केवल क्षयरोगमा मात्र सीमित नराखी ठूला भौतिक संरचना र अन्य विशिष्ट स्वास्थ्य सेवाहरू समेत थपिनुपर्ने जोड दिए। युवा पुस्ताको ऊर्जालाई जनस्वास्थ्यको मूलधारमा ल्याउन यस्ता केन्द्रहरूको स्तरोन्नति अनिवार्य रहेको उनीहरूको भनाइ थियो।
भक्तपुरका ५ पोखरी र ५ पुललाई समेट्दै गरिएको यो भव्य पदयात्राले समाजमा दुईवटा सन्देश दिएको छ। पहिलो, क्षयरोग अझै पनि चुनौती हो र यसलाई जरैदेखि उखेल्नुपर्छ। दोस्रो, स्वास्थ्य र सम्पदाको संरक्षणमा नयाँ पुस्ताको सक्रियता अपरिहार्य छ। यात्रा सकिए पनि युवाहरूले बोकेको “क्षयरोगमुक्त नेपाल” को संकल्पले निरन्तरता पाएको छ।