त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ्ग अध्ययन संस्थान (IoE) व्यवस्थापन तथा विकास परिषदको १९औं बैठक मंगलबार काठमाडौंमा सम्पन्न भएको छ। बैठकले संस्थानको कार्यान्वयन समितिद्वारा पेश गरिएका आर्थिक वर्ष २०८१/०८२ र २०८२/०८३ सम्मका ८० वटा महत्वपूर्ण निर्णय तथा प्रस्तावहरुलाई अनुमोदन गरेको छ।
बैठकको अध्यक्षता गर्दै संस्थानका डीन प्रा.डा. सुशील बहादुर बज्राचार्यले गुणस्तरीय इन्जिनियरिङ्ग शिक्षाको प्रत्याभूति गराउन गुरुयोजना निर्माण गरी कार्य प्रारम्भ भएको जानकारी दिनुभयो। उहाँले संस्थानको शैक्षिक क्यालेण्डर पूर्ण रूपमा कार्यान्वयनमा ल्याइएको, शैक्षिक तथा प्रशासनिक कार्यलाई विद्युतीयकरण गरिएको र प्रवेश परीक्षालाई थप एकीकृत, छिटो र विश्वसनीय बनाइएको बताउनुभयो। डीन बज्राचार्यका अनुसार हाल संस्थानमा ३४ जना विद्यावारिधि शोधार्थीहरु रहेका छन् भने हालसम्म ५२ जनाले उपाधि प्राप्त गरिसकेका छन्। संस्थानले ३६ वटा विषयमा स्नातकोत्तर तह सञ्चालन गरिरहेको र १२ वटा अनुसन्धान केन्द्रहरु क्रियाशिल रहेको उहाँले उल्लेख गर्नुभयो।
शिक्षकहरुको दक्षता अभिवृद्धिलाई प्राथमिकतामा राख्दै विश्वविद्यालय अनुदान आयोगको सहयोगमा १३० जना शिक्षकलाई तालिम दिन लागिएको र त्रिवि सेवा आयोगमार्फत रिक्त पदपूर्तिको प्रक्रिया अन्तिम चरणमा रहेको समेत उहाँले जानकारी दिनुभयो। संस्थानले आगामी दिनमा भौतिक पूर्वाधारको विकास र प्रयोगशालाहरुको स्तरोन्नतिलाई मुख्य प्राथमिकतामा राखेको छ।
बैठकमा संस्थानका सहायक डीन डा. बाबुराम दवाडीले कार्यान्वयन समितिको बैठक नं. ३०७ देखि ३७१ सम्मका ८० वटा प्रस्तावहरु पेश गर्नुभएको थियो। ती प्रस्तावहरुमा नियमित प्रशासनिक कार्य, मातहतका निकायहरुको आर्थिक प्रस्ताव र बजेट स्वीकृतिका विषयहरु समावेश थिए।
बैठकमा नेपाल टेलिकम, नेपाल विद्युत प्राधिकरणका प्रतिनिधि, विभिन्न क्याम्पसका प्रमुखहरु, प्राध्यापक, विद्यार्थी तथा कर्मचारी प्रतिनिधिहरुको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन सहायक डीन प्रा.डा. विनोद भट्टराईले गर्नुभएको थियो भने स्वागत मन्तव्य सहायक डीन सहप्राध्यापक डा. सुरज लामिछानेले राख्नुभएको थियो।