ताजा अपडेट

ट्रेन्डिङ

पञ्चकन्या माविको ४०औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न: सार्वजनिक शिक्षा सुधार्न सहकार्यमा जोड

Gyan Khabar

ज्ञानखबर

शनि, चैत्र २८, २०८२
314 पटक हेरिएको
पञ्चकन्या माविको ४०औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न: सार्वजनिक शिक्षा सुधार्न सहकार्यमा जोड

भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित श्री पञ्चकन्या माध्यमिक विद्यालयले आफ्नो स्थापनाको चालिसौं वार्षिकोत्सव विद्यालय प्राङ्गणमा भव्य रूपमा सम्पन्न गरेको छ। काठमाडौं विश्वविद्यालय शिक्षा संकायका डिन प्रा.डा. बालचन्द्र लुईंटेलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा शिक्षा क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

प्रमुख अतिथिको आसनबाट बोल्दै प्रा.डा. लुईंटेलले सामुदायिक विद्यालयको सबलीकरणले राज्यको आर्थिक भार कम हुने र समाजमा सकारात्मक प्रभाव पर्ने बताउनुभयो। विद्यालयले मान्छे हुनुको अर्थ र सामाजिक संस्कार सिकाउनुपर्नेमा जोड दिँदै उहाँले सार्वजनिक शिक्षा सुधार्ने मुख्य जिम्मेवारी अभिभावकको रहेको उल्लेख गर्नुभयो। एकले अर्कोलाई दोषारोपण गर्नुभन्दा आपसी हातेमालो गरेर अघि बढ्नुपर्ने तर्क राख्दै उहाँले पञ्चकन्या माविलाई एक उत्कृष्ट सामुदायिक विद्यालयको रूपमा प्रशंसा गर्नुभयो।

कार्यक्रममा सिकाई केन्द्रका कार्यकारी अध्यक्ष सुदर्शन घिमिरेले शिक्षक, अभिभावक र विद्यार्थीको सहकार्यबाट मात्र सफलता सम्भव भएको बताउनुभयो। त्यस्तै चाँगुनारायण नगरपालिकाका प्रवक्ता एवं वडाध्यक्ष जनक खत्रीले ८ नं वडालाई शैक्षिक गन्तव्य बनाउने लक्ष्य रहेको र नगरपालिकाको नयाँ नीतिले सक्षम विद्यालयलाई असर नगर्ने आश्वासन दिनुभयो। अर्का अतिथि रोशनराज तुईंतुईंले भने सरकारको अस्पष्ट शैक्षिक नीति र एसईई उत्तरपुस्तिका परीक्षणको नयाँ नियम अव्यावहारिक रहेको टिप्पणी गर्नुभयो।

Messenger creation 0B49AB87 390E 4675 9AB9 FE01E04247F5

विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद दुलालले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै नगरपालिकाले ल्याएको नयाँ ऐन सार्वजनिक विद्यालयको हितमा नरहेको भन्दै असहमति जनाउनुभयो। सहायक प्रधानाध्यापक प्रकाश तजलेले स्वागत मन्तव्य राख्दै पूर्व विद्यार्थीहरूलाई विद्यालयसँग जोडिराख्न “PANCHAKANYA ASSETS” डिजिटल कर्नर सञ्चालन गरिएको जानकारी दिनुभयो।

समारोहमा संस्थापक अध्यक्ष खिलनाथ दुलाल, समाजसेवी लोकप्रसाद दुलाल, उत्कृष्ट अभिभावक र पूर्व विद्यार्थीहरूलाई सम्मानित गरियो। सोही अवसरमा स्व. लोचना कुमारी मल्लको स्मृतिमा विद्यार्थीहरू सलिना र सन्ध्या सिन्चुरीलाई २५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरियो। वि.व्य.स. अध्यक्ष नारायणप्रसाद घिमिरेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कृत समेत गरिएको थियो।