धिमे बाजाको ऊर्जावान् स्वर, बिहानीको सितल हावा र ऐतिहासिक सम्पदाको सामीप्यका बीच शनिबार भक्तपुरमा ‘अस्ट्र हेरिटेज रन’ भव्य रूपमा सम्पन्न भएको छ। उपत्यकाका विभिन्न स्थानबाट आएका ५०० भन्दा बढी युवायुवतीहरू स्वास्थ्य र संस्कृतिप्रति ऐक्यवद्धता जनाउन बिहानै लायकू पुखु परिसरमा भेला भएका थिए। अस्ट्र फिट क्लबको आयोजनामा भएको यो दौड केवल शारीरिक अभ्यास मात्र नभई युवापुस्तालाई आफ्नो मौलिक पहिचान र सामाजिक जागरणसँग जोड्ने माध्यम बन्यो।
आयोजकहरूले १० किलोमिटरको चुनौतीपूर्ण दूरी तय गरेका थिए, जसलाई एक घन्टाभित्र पूरा गर्ने लक्ष्य राखिएको थियो। लायकू पुखुबाट सुरु भएको दौड नपुखु, तपुखु, न्हुपुखु र भाज्या पुखु हुँदै अगाडि बढेको थियो। भाज्या पुखु क्षेत्र धावकहरूका लागि नियमित अभ्यासको थलो समेत रहेकाले त्यहाँ पुग्दा सहभागीहरू थप उत्साहित देखिएका थिए। धिमे बाजाको तालमा नाचगानसहित अघि बढेको यो यात्राले भक्तपुरको गल्ली–गल्लीमा छुट्टै रौनक ल्याएको थियो।
दौडका क्रममा सहभागीहरूले भक्तपुरको जीवन्त संस्कृतिको प्रत्यक्ष साक्षात्कार गर्ने अवसर पाए। टोली तेखापुखु हुँदै मंगलकुण्डतर्फ अघि बढ्दा बिस्का जात्राको तयारीस्वरूप भैरवनाथको रथ यात्रासँग भेट भएको थियो भने लैकाे टोलमा बालबालिकाहरू भद्रकालीको रथ तान्न उत्साहित देखिन्थे। चैत ३० गते लिङ्गो उभ्याइने ल्याेसिख्य पुखु क्षेत्रमा सरसफाइ भइरहेको देखिनुले जात्राको पूर्वसन्ध्यामा नगर कति क्रियाशील छ भन्ने झल्काउँथ्यो।
यद्यपि यो यात्रा उत्सवमा मात्र सीमित रहेन। कलाँचा पुखु क्षेत्रमा देखिएको फोहोर र दुर्गन्धले स्थानीयहरूमा असन्तुष्टि पैदा गरेको पाइयो। त्यस्तै, कुमारी पुखु, याताबाहरे पुखु र खचाँ पुखु हुँदै सलाँ पुखु पुग्दा स्थानीयहरूले “पुखुहरूको संरक्षण कहिले हुने?” भन्ने प्रश्न अंकित प्लेकार्डसहित धावकहरूलाई स्वागत गरेका थिए। यसले खेलकुद कार्यक्रमलाई वातावरणीय संरक्षण र नागरिक खबरदारीको सशक्त मञ्चमा परिणत गरिदियो।
नाग पुखु र भौल्वा पुखु हुँदै पुनः लायकू क्षेत्रमा पुगेर दौड समापन गरिएको थियो। समापनको विशेष अवसरमा भक्तपुरका चर्चित जिमरहरू तारा सुवाल र सनम मूलगुठी लगायतले सफल धावकहरूलाई मौलिक काठको तक्मा प्रदान गरी सम्मान गर्नुभएको थियो। यो सम्मानले स्थानीय उत्पादन र मौलिकतालाई प्रवर्द्धन गर्ने आयोजकको उद्देश्यलाई थप स्पष्ट पारेको थियो।
समग्रमा ‘हेरिटेज रन’ ले बहुआयामिक प्रभाव छाडेको छ। यसले एकातिर युवाहरूलाई शारीरिक फिटनेस र स्वस्थ जीवनशैलीतर्फ प्रेरित गरेको छ भने अर्कोतिर ऐतिहासिक सम्पदा र पुखुहरूको प्रत्यक्ष अवलोकन गराएर सांस्कृतिक गौरव बढाएको छ। फोहोर र उपेक्षित सम्पदाका विरुद्ध उठेका नागरिक आवाजले नीति निर्माताहरूलाई संरक्षणका लागि दबाब दिएको छ। धिमे बाजा, जात्रा र खेलकुदको यो त्रिवेणीले भक्तपुरको सामुदायिक शक्ति र पर्यटकीय सम्भावनालाई अझ प्रखर रूपमा उजागर गरेको छ।