ताजा अपडेट

ट्रेन्डिङ

विश्वविद्यालय सुधार्न दलीय भागबन्डा अन्त्य हुनुपर्ने

Gyan Khabar

ज्ञानखबर

शुक्र, माघ ५, २०८०
128 पटक हेरिएको
विश्वविद्यालय सुधार्न दलीय भागबन्डा अन्त्य हुनुपर्ने

प्राज्ञिक विद्यार्थी परिषद् नेपालले नेपालको समग्र शिक्षा क्षेत्र सुधारका लागि माघ महिनाभर सञ्चालन गर्ने शैक्षिक सुधार अभियानका कार्यक्रमहरू घोषणा गरेको छ ।

बिहीवार त्रिभुवन विश्वविद्यालय उपकुलपति कार्यालय अगाडि पत्रकार सम्मेलनको आयोजना गरी देशको समग्र शिक्षा क्षेत्र सुधारका लागि राष्ट्रव्यापी शैक्षिक अभियानका कार्यक्रम घोषणा गरेको हो ।

विद्यार्थी परिषद्का राष्ट्रिय महासचिव विष्णुप्रसाद पंगेनीले देशको समग्र शैक्षिक अवस्था विस्तारै खस्कँदै गइरहेकाले विद्यार्थी परिषद्ले प्रवेश, परीक्षा, परिणाम, पात्रो र पाठ्यक्रम सुधार गर्नु पर्ने आवश्यकता भएकाले राष्ट्रव्यापी शैक्षिक अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताए ।

विश्वविद्यालयहरूको उपकुलपति, रेक्टर, रजिस्ट्रार दलीय भागबन्डाबाट नियुक्ति हुने परिपाटीको अन्त्य गर्नुपर्ने, नैतिक शिक्षा लागू गर्नु पर्ने, ट्रास्कृप्ट लिने व्यवस्था अनिवार्य रूपमा अनलाइनबाट गरिनुपर्ने माग गरिएको छ ।

नेपाली भाषामा पनि प्रश्न पत्र तयार गर्नुपर्ने, कक्षा १२ सम्म संविधानमा निर्दिष्ट गरिएको निःशुल्क शिक्षालाई छिटोभन्दा छिटो लागू गर्नुपर्नेजस्ता मागहरू राख्दै शैक्षिक अभियान सञ्चालन गर्न गइरहेको महासचिव पंगेनीले बताए ।

साथै राष्ट्रिय मिडिया प्रमुख कृष्ण हुमागाईंले त्रिविको मूल्यांकन पद्धति ठीक नभएको र स्नातक तहसम्म नेपाली मिडियमा अध्ययन गरेका विद्यार्थीले भाषाकै कारण प्रश्नपत्र बुझ्न नसकेर अनुत्तीर्ण भएको विषय बताउँदै छिटोभन्दा छिटो दुवै भाषामा प्रश्नपत्र तयार गर्न माग गरे ।

साथै उहाँले उपकुलपति नियुक्तिका लागि दलको नेताहरूलाई भेट्न बन्द गर्दै कसरी विश्वविद्यालय राम्रो र उत्कृष्ट बनाउन सकिन्छ भन्ने विषयमा ध्यान केन्द्रित गर्न अनुरोध गरे ।

परिषद्का केन्द्रीय विश्वविद्यालय प्रमुख छितराज न्यौपानेले विश्वविद्यालयका पदाधिकारीहरूले दलको झोला बोक्ने अनि शिक्षा क्षेत्र बिग्रियो भन्ने चिन्ता गर्ने त्यो नैतिकता कसरी हुन सक्छ भनी प्रश्न गरे ।

पत्रकार सम्मेलनमा राष्ट्रिय सचिव जानकी आचार्यले अभियानमा माग गरिएका शैक्षिक मुद्दाहरुलाई आवश्यकताको आधारमा तुरुन्तै लागू गर्न माग गरे ।