ताजा अपडेट

ट्रेन्डिङ

स्ववियुमा देशको प्राकृतिक स्रोतमा युवा प्रतिभाको प्रयोग गर्ने नेतृत्व आवश्यक

Gyan Khabar

सत्य राम कासिछ्वा

आइत, चैत्र ३, २०८१
751 पटक हेरिएको
स्ववियुमा देशको प्राकृतिक स्रोतमा युवा प्रतिभाको प्रयोग गर्ने नेतृत्व आवश्यक

विद्यार्थीलाई कुनैपनि राजनीतिक दलको सदस्य बनाउन हुँदैन । तर तिनीहरुमा देशभक्ति तथा जनताको सेवा हुने भावनाको विकास गराउनु पर्दछ । विद्यार्थीलाई राजनीतिक दलको भातृ संगठनको रुपमा प्रयोग गर्दा देशको लागि आवश्यक जनशक्ति भन्दा पनि राजनीतिक दलको कार्यकर्ता हुने प्रवृतिले नेपालको विद्यार्थी आन्दोलन राजनीतिक दलको सहयोगी भूमिका निभाइरहेको छ । हुन त विद्यार्थी आन्दोलनबाट विद्यार्थीहरुले देशको भविष्यलाई आफ्नो मूल मन्त्र र सिद्धान्त निर्माण गरेका हुन्छन् ।

स्वतन्त्र विद्यार्थी युनियन विद्यार्थीको हक अधिकार संरक्षण र सम्वद्र्धन गर्ने निकाय हो । सरकारी क्याम्पसका शैक्षिक तथा संस्थागत सुधारका लागि सधैँ क्रियाशील रहने हुनाले यसलाई विद्यार्थीहरूको आधिकारिक संस्थाका रूपमा लिइन्छ । विद्यार्थीका आफ्ना समस्या आफैँले समाधान गर्न स्ववियुको परिकल्पना गरिएको थियो । स्ववियु राजनीतिक दलको विचार भन्दा पनि विद्यार्थीको हक अधिकारका लागि निर्माण गरिएको साझा संस्था हो । विश्वविद्यालयमा स्ववियुलाई राजनीतिक क्रान्तिको अब्बल संस्थाका रूपमा पनि लिइन्छ । तर विद्यार्थी नेतृत्वले समयको गतिशीलतालाई नबुझी राजनीतिक दलकै भातृसंगठनको रुपमा अघि बढ्न खोज्दा स्ववियुको महत्त्व र आवश्यकता माथि नै प्रश्नचिन्ह उठेको छ ।

विश्व इतिहासमा विद्यार्थी सङ्गठनहरूको इतिहास हेर्दा स्ववियुको स्थापना दोस्रो विश्वयुद्धभन्दा पनि अघिदेखि भएको देखिन्छ । दोस्रो विश्वयुद्धमा विद्यार्थी सङ्गठनको पनि अहम् भूमिका रहेको इतिहासमा अध्ययन गर्न सकिन्छ । विद्यार्थीहरूले विश्वयुद्धमा सैनिकहरूलाई खाना, पानी पुर्याउनुका साथै उनीहरूको विश्वविद्यालयमा सुरक्षा दिने भूमिका निभाएको देखिन्थ्यो ।
विश्वयुद्ध समाप्तिसँगै विद्यार्थी सङ्गठनहरू विद्यार्थी हक अधिकारका साथै विद्यार्थीमैत्री क्रियाकलापमा रूपान्तरण गर्न गरेको पाइन्छ । आज पनि विश्वको अधिकांश विश्वविद्यालयमा स्ववियुको अभ्यास र कार्यान्वयन भइरहेको छ । विश्वविद्यालयको शिक्षालाई व्यवहारिक सीप र समग्र समुदायको परिवर्तनका लागि अहिले पनि स्ववियुको भूमिका अति आवश्यक छ ।

नेपालमा पनि युगान्तकारी परिवर्तन र राजनीतिक घटनाक्रममा विद्यार्थी सङ्गठनहरूको भूमिका नेपालका विभिन्न विद्यार्थी सङ्गठनको पनि उल्लेखनीय रहिआएको छ । गर्विलो इतिहास बोकेको विभिन्न विद्यार्थी सङ्गठनहरूले समय र आवश्यकतालाई बुझेर आफ्नो औचित्यलाई परिवर्तन गर्न सकेका छैनन् ।

नेपालमा विद्यार्थी सङ्गठनहरूको स्थापना अहिलेका राजनीतिक पार्टीहरूभन्दा पहिलै भएको हो । नेपालको पहिलो विद्यार्थी सङ्गठनको रूपमा भारतको बनारसमा पढ्ने नेपाली विद्यार्थीहरू मिलेर वि.सं. १९९१ मा स्थापना भएको ‘नेपाली छात्रा सङ्घ’लाई लिइन्छ । राणाशासनको दमन र अत्याचारको विरोध गर्दै सशक्त बन्दै आएको समाज परिवर्तन गर्ने आवाजमा १९९७ मा गङ्गलाल श्रेष्ठ सहिद बन्न पुगे । उनलाई नै नेपालको पहिलो विद्यार्थी सहिदका रूपमा लिइन्छ । यस्तै राजनीतिक घटनाक्रम चर्किँदै जाँदा विद्यार्थीहरू आन्दोलित भएर विसं. २००४ सालमा ‘जयन्त संस्कृत’ को रूप लियो ।

राणा शासकहरूको दमनले जनताका छोराछोरीलाई शिक्षाबाट वञ्चित हुँदा विद्यार्थी राजनीति सशक्त हुँदै अघि बढेको देखिन्छ । २०१७ सालमा राजा महेन्द्रबाट राजनीतिक पार्टीहरूलाई प्रतिबन्ध लगाए । त्रिभूवन विश्वविद्यालय स्थापनाले विद्यार्थी आवाजलाई सशक्त बनाउन वि.सं २०१८ मा नेपालमा पहिलो पटक विद्यार्थीहरूको साझा संस्थाको स्ववियुको स्थापना भयो । त्यसपछि पञ्चायती सरकारविरुद्ध सशक्त आवाज उठाउने काम पनि स्ववियुले नै गर्यो । त्यसैले पञ्चायती शासन व्यवस्था अन्त्य गर्न स्ववियुले महत्वपूर्ण खेल्यो । २०३६ मा जनमत सङ्ग्रह गर्न, २०४६ मा बहुदलीय व्यवस्था ल्याउन, २०६२–६३ को जनआन्दोलनमा राजनीतिक दलहरु प्रतिबन्धित अवस्थामा विद्यार्थी आन्दोलनको भूमिका महत्वपर्ण छ ।

गर्विलो इतिहास बोकेको विद्यार्थी सङ्गठनहरूले समय र आवश्यकतालाई बुझेर आफ्नो औचित्यलाई परिवर्तन गर्न सकेका छैनन् । स्ववियु निर्वाचित प्रतिनिधिहरूले राजनीतिक क्षेत्रमा माउ पार्टीको कार्यकर्ता र व्यक्तिगत रूपमा मात्र काम गरेको देखिन्छ । पार्टीका कार्यकर्ता मात्र नभई विद्यार्थी हक अधिकारका लागि आफूलाई क्रियाशील गराउन नसक्दा स्ववियुको आवश्यकताको प्रश्नले स्ववियु नै धराशायी अवस्थामा पुग्न लागेको छ ।

गौरवमय इतिहास बोकेको स्ववियुले आफ्नो रचनात्मक भूमिका निभाउन नसक्दा विद्यार्थी हक अधिकार, अवसर, शैक्षिक मुद्दाहरु ओझेलमा परेका छन् । विभिन्न क्याम्पसमा विभिन्न नाम गरेका समूह वा सङ्गठनहरूले आफ्नो स्वार्थका विविध माग राखेर तालाबन्दी गर्दा त्रिविले आफ्नो सेवा विद्यार्थीसम्म पुर्याउन कठिन छ, विद्यार्थीका जायज माग सम्बोधन हुँदैन । यसले गर्दा देशको नेतृत्व गर्ने भोलिको जनशक्ति उत्पादनमा समस्या देखिन्छ ।

प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचनमा २८ वर्षको उमेर हदबन्दी र निश्चित निर्वाचन प्रणाली लागू गरिएको छ । शैक्षिक मुद्दामा आवाज उठाउने साझा थलोका रूपमा रहेको स्ववियुले विद्यार्थी हक अधिकारको पौरवी गर्ने, विद्यार्थीको क्षमता उजागर गर्ने, क्याम्पसमा रहेको विभिन्न अनियमितता, ढिलासुस्ती र भ्रष्टाचारको अन्त्य गराउने तर्फ आफूलाई क्रियाशील बनाउनपर्छ ।

स्ववियु निर्वाचनमा निर्वाचित व्यक्तिले आफ्नो व्यक्तिगतका साथै राजनीतिक क्षेत्रमा मात्रै समर्पित भएर निर्णय गर्ने प्रवृतिले विद्यार्थीहरूबीच हुने समस्याको उचित समाधान नगरि दिँदा स्ववियु विकृत र अराजकताको दिशातर्फ लम्किने, त्रिवि तथा त्रिविका आन्तरिक प्रशासनका विभिन्न कार्यक्रममा हिस्सेदारी खोज्दा स्ववियुको अस्तित्व नै धरापमा छ ।

अहिलेको स्ववियु लोभ, राजनीतिक चलखेल र व्यक्तिगत प्रभावमा नपरी काम गर्न सक्ने कुशल व्यक्तिको खोजीमा छ । त्रिविका कार्यक्रमलाई निष्पक्ष अध्ययन गरी सुझाव र प्रशंसा दिने तथा प्रलोभन