सिर्जनानगर नपली १ स्थित सन्तति आधारभूत विद्यालयले बुधबार एक विशेष कार्यक्रम आयोजना गरी आफ्ना नयाँ विद्यार्थीहरूलाई हार्दिक स्वागत गरेको छ। विद्यालयले सोही अवसरमा विद्यार्थीहरूलाई छात्रवृत्ति पनि वितरण गरेको छ।
विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा प्रमुख अतिथि भक्तपुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीको उपस्थिति रहेको थियो। प्रमुख अतिथि खत्रीले सामुदायिक विद्यालयहरू व्यक्तित्व विकासको पहिलो खुट्किलो भएको बताउँदै यिनीहरूको भौतिक तथा शैक्षिक सुधारका लागि भक्तपुर नगरपालिकाले संविधान अनुसार आर्थिक तथा आवश्यक सहयोग गरिरहेको जानकारी दिए।
उनले शिक्षासँगै विद्यालयले विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गर्दा काम गरी खाने अभिभावकहरूको सामुदायिक विद्यालयप्रतिको विश्वास बढ्दै गएको बताए। यसैकारण छिमेकी नगर र वडाका अभिभावकहरूको पनि सामुदायिक विद्यालयप्रति आकर्षण बढेको उनको भनाई थियो।
वडाध्यक्ष खत्रीले भक्तपुर नगरपालिका शिक्षा, स्वास्थ्य, सरसफाइ र सम्पदा संरक्षणमा सक्रिय रहेको उल्लेख गर्दै ऐतिहासिक सामुदायिक विद्यालयहरूको भौतिक सुधारलाई प्राथमिकता दिएको बताए। उनले समाज परिवर्तनका लागि सेवाको भावना अनुरूप भौतिकवादी दृष्टिकोण अनुसार व्यवहार गर्न शिक्षकहरूलाई विद्यार्थीहरूलाई उत्प्रेरित गर्न आग्रह गरे।
विद्यालयका प्रधानाध्यापक दीपक माकले विद्यार्थीहरूको शैक्षिक भविष्य निर्माणको आधारशिला तयार पार्नु शिक्षकहरूको दायित्व भएको बताए। सीमित स्रोत साधनको अधिकतम उपयोग गरी बालमैत्री क्रियाकलाप तथा सिकाइलाई सहज बनाउन विद्यालयमा पुस्तकालय सञ्चालन गर्ने योजना रहेको जानकारी उनले दिए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा कार्यक्रमका सभापति सूर्यप्रसाद श्रेष्ठले सामुदायिक विद्यालयमा अभिभावकको बढ्दो विश्वासले कक्षा वृद्धि र विद्यार्थी व्यवस्थापनमा चुनौती थपिएको बताए। उनले आवश्यक भवनको व्यवस्था र सहयोग गर्ने भक्तपुर नगरपालिका र स्थानीयलाई धन्यवाद ज्ञापन गरे।
कार्यक्रममा २०८२ को शैक्षिक सत्रका लागि कक्षा १ देखि ७ सम्म भर्ना भएका ९५ जना विद्यार्थीहरूलाई छात्रवृत्ति स्वरूप विद्यालय पोशाक वितरण गरिएको थियो। साथै, बालविकास तहमा भर्ना भएका ५० जना विद्यार्थीहरूलाई पनि स्वागत गरिएको थियो।
उक्त अवसरमा विद्यालय व्यवस्थापन समितिका सदस्य भोजराज बस्नेत, विद्यालयका शिक्षिका लक्ष्मी काफ्ले र शारदा कार्की लगायतले पनि आफ्ना विचार व्यक्त गरेका थिए।