विनायक शिक्षा निकेतनले आज कक्षा नर्सरीमा भर्ना भएका नयाँ विद्यार्थीहरूका अभिभावकहरूका लागि विद्यालयको Activity Based Curriculum सम्बन्धी एक अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ।
विद्यालय परिसरमा आयोजित उक्त कार्यक्रममा प्री-लेभल कोर्डिनेटर पद्मा श्रेष्ठले क्रियाकलापमा आधारित सिकाइका विभिन्न पक्षहरूबारे अभिभावकहरूलाई विस्तृत जानकारी गराए। उनले सिकाइलाई थप रोचक र प्रभावकारी बनाउन अपनाइने विभिन्न क्रियाकलापहरूसमेत अभिभावकहरूलाई गराएका थिए।
विद्यालयका सेकेन्डरी कोर्डिनेटर शैलेन्द्र भट्टराईले विनायक शिक्षा निकेतनले विद्यार्थीहरूलाई आधुनिक शिक्षण विधिद्वारा अध्यापन गराइरहेको स्पष्ट पारे। यसैगरी, विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्र विक्रम प्रजापतिले अभिभावकहरूले आफ्ना बालबालिकाहरूलाई पर्याप्त समय दिनुपर्ने, उनीहरूलाई असल संस्कार सिकाउनुपर्ने र सधैँ हौसला तथा प्रेरणा प्रदान गर्नुपर्ने कुरामा जोड दिए।