जलस्रोतको दिगो व्यवस्थापनमा युवा सहभागितालाई सशक्त बनाउने उद्देश्यका साथ नेपाल इन्जिनियरिङ कलेज (NEC) का सिभिल इन्जिनियरिङ विभागका २० जना विद्यार्थीहरूलाई सामाजिक वैज्ञानिकका रूपमा परिचालन गरिएको छ। उनीहरूले सरल उपकरण र मोबाइल प्रविधिको प्रयोग गरी वर्षासम्बन्धी तथ्याङ्क सङ्कलन गर्नेछन्।
स्मार्टफोन फर वाटर नेपाल (S4W-नेपाल) द्वारा आयोजित एक जानकारीमूलक आउटरीच कार्यक्रममार्फत यी विद्यार्थीहरूलाई छनोट गरिएको हो। यो परियोजनाले विशेष गरी वर्षासम्बन्धी तथ्याङ्कको अभाव रहेका क्षेत्रहरू र काठमाडौं उपत्यका जस्ता अव्यवस्थित शहरी क्षेत्रहरूमा पानीको अध्ययनमा केन्द्रित रहनेछ।
S4W-नेपालका प्रमुख कार्यकारी अधिकृत डा. सञ्जीव न्यौपाने, जो नेपाल इन्जिनियरिङ कलेजकै पूर्वविद्यार्थी पनि हुन्, ले यस अभियानले दीर्घकालीन जलस्रोत व्यवस्थापनमा महत्वपूर्ण टेवा पुर्याउने बताए। उनले भने, “यो परियोजना केवल तथ्याङ्क सङ्कलन मात्र होइन, युवाहरूमार्फत स्थानीय स्तरमै क्षमता विकास गर्ने अभियान पनि हो। हाम्रो प्रयासले दीर्घकालीन जलस्रोत दिगोपनामा योगदान दिनेछ।” डा. न्यौपानेको नेतृत्वमा आयोजित कार्यक्रममा परियोजनाको लक्ष्य, कार्यविधि र यसको दीर्घकालीन प्रभावबारे विस्तृत जानकारी दिइएको थियो।
यस सहकार्यप्रति उत्साह व्यक्त गर्दै सिभिल इन्जिनियरिङ विभागका प्रमुख एसोसिएट प्रोफेसर रमेश खनालले भने, “हाम्रा आफ्नै पूर्वविद्यार्थी यस्ता सकारात्मक कार्यमा अगाडि देखिनु गर्वको विषय हो। यस्ता कार्यक्रममा सहभागी हुँदा विद्यार्थीहरूले व्यवहारिक ज्ञान प्राप्त गर्ने मौका पाउँछन्, जुन भविष्यमा उनीहरूको काममा उपयोगी हुन्छ।”
छनोट गरिएका विद्यार्थी तथा सामाजिक वैज्ञानिकहरूलाई तथ्याङ्क सङ्कलन विधिबारे अभिमुखीकरण (orientation) पनि प्रदान गरिएको छ। S4W-नेपालले नागरिक वैज्ञानिकतालाई प्रोत्साहन गर्दै नेपालमा जलस्रोतसम्बन्धी अनुसन्धान र व्यवस्थापन प्रणालीमा नयाँ दृष्टिकोण ल्याउने अपेक्षा राखेको छ।