ताजा अपडेट

ट्रेन्डिङ

मध्यपुर थिमि नगरपालिकामा होमियोप्याथिक स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा

Gyan Khabar

ज्ञानखबर

बिहि, जेष्ठ २९, २०८२
333 पटक हेरिएको
मध्यपुर थिमि नगरपालिकामा होमियोप्याथिक स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा

मध्यपुर थिमि नगरपालिकाले वैकल्पिक चिकित्सा उपचार विधि होमियोप्याथिक स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याएको छ। बिहीबार वडा नं. ७ मा नगरप्रमुख सुरेन्द्र श्रेष्ठले एक समारोहका बीच होमियोप्याथिक स्वास्थ्य सेवा केन्द्रको शुभारम्भ गरे।

शुभारम्भ कार्यक्रममा बोल्दै नगरप्रमुख श्रेष्ठले स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन ल्याउनका लागि मध्यपुर थिमिमा होमियोप्याथिक स्वास्थ्य सेवा केन्द्रको सुरुवात गरिएको बताए। नगरपालिकाले कार्यविधि नै बनाएर स्थानीयवासीको सहजताका लागि यो सेवा सुरु गरेको र यसका लागि २ लाख रुपैयाँ बजेट समेत विनियोजन गरेको जानकारी दिँदै उनले ७ सय ५३ वटा स्थानीय तहमध्ये स्थानीय तहले सञ्चालन गरेको होमियोप्याथिक स्वास्थ्य सेवा केन्द्र मध्यपुर थिमिमा पहिलो भएको दाबी गरे।

mthomiyo1

यसैगरी, वडा नम्बर १ र ५ मा आयुर्वेदिक स्वास्थ्य सेवा सञ्चालन भइरहेको र नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालबाट दैनिक १ हजार बिरामीको उपचार भइरहेको पनि प्रमुख श्रेष्ठले बताए। नगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्दै आएको र बजेट बनाउँदा आर्थिक स्तरलाई उकास्नका लागि पर्यटकीय क्षेत्र कसरी बनाउने र यस क्षेत्रलाई अझ सबल बनाउनका लागि काम गरिने उनको भनाइ थियो।

कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजय कृष्ण श्रेष्ठले ७५३ वटा स्थानीय तहमध्ये होमियोप्याथिक सेवा सुरु गर्ने मध्यपुर थिमि पहिलो स्थानीय तह भएको बताए। विश्व स्वास्थ्य संगठनले पनि मान्यता दिएको होमियोप्याथिकलाई नेपाल सरकारले समेत मान्यता दिएको बताउँदै यसले समग्र मध्यपुरवासीको स्वास्थ्य सुधारमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे।

mthomiyo

उद्घाटन कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका वडा नं. ७ का वडा अध्यक्ष कृष्ण कुमार प्रजापति, वडा नं. १ का वडा अध्यक्ष बाबुकाजी डंगोल, २ का श्रीकृष्ण श्रेष्ठ, ३ का कृष्ण हरि आचार्य, ४ का बालकृष्ण पात्या श्रेष्ठ, ६ का ज्ञानदास प्रजापति, ८ का रमेश थापा श्रेष्ठ, ९ का सानुकाजी राजवाहक, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकार, नेपाल कोरिया मैत्री अस्पतालका निर्देशक दिपेन्द्र कुमार रौशन, साथै होमियोप्याथिक चिकित्सकहरुमा डा. रामकुमार अधिकारी, प्रेमनारायण श्रीवास्तव, अम्बिका ज्ञवाली, अनुप पन्थी र डा. सुरेन्द्र श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।