कालिघाट, भक्तपुरस्थित बासु माध्यमिक विद्यालयमा एसईई परीक्षाको नतिजाको पर्खाइमा रहेका विद्यार्थीहरूका लागि बिदाइ तथा मार्गनिर्देशन कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथि बागमति प्रदेश सांसद सृजना सैंजूले उच्च शिक्षा अध्ययनमा हरेक विषयको आ-आफ्नै महत्त्व रहेको कुरामा जोड दिँदै अध्ययन गर्दा देश र समाजको सेवालाई प्रमुख लक्ष्य बनाउनुपर्ने बताए। उनले विद्यार्थीहरूको निम्ति यो समय ‘लार्भा अवस्था’ भएकोले जति धेरै किताब र ज्ञान ग्रहण गर्न सकियो, त्यति नै राम्रो ‘पुतली’ बन्न सकिने प्रेरणादायी भनाइ राखे।
कार्यक्रमका विशेष अतिथि तथा विद्यालय व्यवस्थापन समितिका सदस्य अजेन्द्र लघुले विषय मात्र राम्रो नभई पढ्ने शैक्षिक संस्था पनि सही हुनुपर्ने धारणा व्यक्त गरे। उनले मिसनरी र विदेशी एजेन्टले चलाएका विद्यालयहरूबाट सतर्क रहन विद्यार्थीहरूलाई आग्रह गरे।
प्रधानाध्यापक रबिलाल प्रधानको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सहायक प्रधानाध्यापक राजकुमार ह्यायौंमिखाले स्वागत मन्तव्य राखेका थिए।
कार्यक्रममा उपस्थित विद्यार्थी तथा अभिभावकहरूले यस किसिमको मार्गनिर्देशन कार्यक्रमले उच्च शिक्षाको छनोटमा निकै सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।