मध्यपुर ठिमीस्थित विनायक शिक्षा निकेतन इङ्लिस स्कुलले कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूका लागि सूचना तथा प्रविधि (IT) को क्षेत्रमा एक ऐतिहासिक सम्झौता गरेको छ। बेलायतको प्रतिष्ठित ब्रिटिश कलेज सँगको यो सहकार्यले विद्यार्थीहरूलाई अत्याधुनिक आईटी ज्ञान र सीप प्रदान गर्ने नयाँ ढोका खोलेको छ।
ब्रिटिश सरकारबाट मान्यता प्राप्त नेसनल कम्प्युटर सेन्टर (NCC Education) र विनायक शिक्षा निकेतनका प्रिन्सिपल सुरेन्द्र विक्रम प्रजापति बीच हिजो उक्त कोर्स पठनपाठन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको थियो।
यस सम्झौता अन्तर्गत, विद्यार्थीहरूलाई वर्तमान विश्वमा बहुचर्चित विषयहरू जस्तै Scratch, Coding, र Cyber Security का विषयमा गहन प्राविधिक ज्ञान प्रदान गरिनेछ। यसले विद्यार्थीहरूलाई सीपमूलक र जीवनोपयोगी ज्ञान दिँदै उज्ज्वल भविष्यका लागि तयार पार्ने लक्ष्य राखिएको छ। अझ महत्त्वपूर्ण कुरा, यो कोर्स पूरा गरेपछि योग्य र सक्षम व्यक्तिहरूलाई दुई वर्षभित्रै रोजगारीको अवसरसमेत प्रदान गरिनेछ।
सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल सुरेन्द्र विक्रम प्रजापति ले रुपान्तरित शिक्षाका लागि प्रविधि अपरिहार्य रहेको बताउनुभयो। उहाँका अनुसार, “प्रविधिले आजका विद्यार्थीलाई भोलिका विश्व बजारमा टिक्न र बिक्न सक्ने बनाउँछ।” उहाँले विद्यालयले स्थापनाकालदेखि नै प्रगतिशील सोचका साथ रुपान्तरित शिक्षामा जोड दिँदै आएको कुरामा पनि प्रकाश पार्नुभयो।
यो सहकार्यले विनायक शिक्षा निकेतनका विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरको आईटी शिक्षा प्राप्त गर्ने अवसर प्रदान गर्नेछ, जसले उनीहरूको शैक्षिक र व्यावसायिक भविष्यमा महत्त्वपूर्ण भूमिका खेल्नेछ।