नेपाल इन्जिनियरिङ कलेज (NEC), दुवाकोट, चाँगुनारायण, भक्तपुरमा मंगलबारदेखि NEC Ingenium 2025 सुरु भएको छ। तीन दिने यस कार्यक्रमको पहिलो दिन विश्वव्यापी समस्या समाधानका लागि ह्याकाथन कार्यक्रम आयोजना गरियो। यसले युवा इन्जिनियरहरूलाई चुनौती सामना गर्न र नवीन समाधान पत्ता लगाउन प्रेरित गर्नेछ।
आज, बुधबार, “एक विश्व, एक समाधान” शीर्षकको आन्तरिक कार्यक्रम आयोजना गरिनेछ। कलेजका प्राचार्य इन्जिनियर दुर्गाप्रसाद भण्डारीका अनुसार, तेस्रो तथा अन्तिम दिन पोस्टर डिजाइन, पप्सिकल ब्रिज, आर्किटेक्चरल मोडल शोकेस, रोबोसकर जस्ता प्रतियोगिताहरू हुनेछन्। टेकएक्स इनोभेसन मेला र विभिन्न इन्जिनियरिङ विधाका लागि नवीन पूर्वाधार चुनौती कार्यक्रम पनि यसै दिन आयोजना गरिनेछ।
अन्तिम दिन उपत्यकाका इन्जिनियरिङ कलेजहरूमा फ्ल्यास मोब अभियान र +२ विद्यार्थी सहभागी हुने राष्ट्रव्यापी सर्टएक्स भिडियो चुनौती समावेश छन्। साथै, खुला विज्ञान प्रदर्शनी पनि हुनेछ। कार्यक्रम संयोजक एसोसिएट प्रोफेसर विश्वदीप मैनालीका अनुसार, नौ वटा इभेन्टहरूमा पहिलो र दोस्रो हुनेलाई नगदसहितको पुरस्कार दिइनेछ। भाइनेट लगायत विभिन्न संघसंस्थाहरूले सहयोग गरेका छन्। यस कार्यक्रमले नेपालका भविष्यका इन्जिनियर र प्राविधिकहरूमा नवप्रवर्तन, रचनात्मकता र सहकार्यलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।