मध्यपुर ठिमीस्थित विनायक शिक्षा निकेतन ई. स्कूलले शिक्षासँगै संस्कृति र संस्कारको विकास अपरिहार्य छ भन्ने मूल मान्यतालाई आत्मसात् गर्दै २०८२ असार २६ गते भव्य गुरुपूजा कार्यक्रमको आयोजना गर्यो।
यस कार्यक्रमले विद्यार्थी र गुरुबीचको आत्मीय सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै नेपाली परम्परा र नैतिक मूल्यहरूको जगेर्नामा जोड दिएको छ।
कक्षा १२ का विद्यार्थीहरूको सक्रिय संयोजनमा आयोजित यस कार्यक्रममा विद्यार्थीहरूले विविध रचनात्मक प्रस्तुतिहरूद्वारा गुरुहरूको सम्मान गरे। उनीहरूले गीत, कविता र विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गर्दै गुरुप्रतिको श्रद्धा र कृतज्ञता व्यक्त गरे।
गुरुहरूलाई खादा लगाएर शुभारम्भ गरिएको यस कार्यक्रममा विद्यालयका विभिन्न पदाधिकारीहरूले गुरुपूर्णिमाको शुभकामना व्यक्त गरे। +२ संयोजक तुल्सीहरि प्रजापति, सहायक प्राचार्य प्रेमप्रसाद निरौला, र शैक्षिक संयोजक शैलेन्द्रकुमार भट्टराई लगायतले गुरुहरूको निःस्वार्थ योगदानको प्रशंसा गर्दै सबैलाई गुरुपूर्णिमाको शुभकामना दिए।
कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै विद्यालयका प्राचार्य सुरेन्द्र विक्रम प्रजापतिले गुरुको मार्गनिर्देशनलाई जीवनको मूलमन्त्रका रूपमा स्वीकार्न प्रेरणा दिए। “गुरुको दीक्षालाई शिरोपर गर्दै अगाडि बढ्न सके मात्र जीवन सफल र सार्थक हुन्छ,” उनले भने।
प्राचार्य प्रजापतिले आफूले ज्ञान आर्जन गर्न सक्ने सबैलाई गुरु मानी अगाडि बढ्न सल्लाह दिँदै जीवनमा गुरुको महत्त्वलाई थप उजागर गरे।
यस गुरुपूजा कार्यक्रमले विनायक शिक्षा निकेतनले केवल किताबी ज्ञानमा मात्र नभई विद्यार्थीहरूमा नैतिक मूल्य, सांस्कृतिक चेतना र सामाजिक जिम्मेवारीको विकासमा पनि उत्तिकै जोड दिँदै आएको स्पष्ट पारेको छ।