ताजा अपडेट

ट्रेन्डिङ

विनायकका विद्यार्थीका लागि जीवन शिक्षा सम्बन्धी दुई दिने गोष्ठी

Gyan Khabar

ज्ञानखबर

शनि, साउन १७, २०८२
392 पटक हेरिएको
विनायकका विद्यार्थीका लागि जीवन शिक्षा सम्बन्धी दुई दिने गोष्ठी

शिक्षाका साथसाथै संस्कार र अनुशासनमा जोड दिँदै प्रगतिशील सोचको रूपान्तरित शिक्षा दिँदै आएको मध्यपुर ठिमीको विनायक शिक्षा निकेतन इङ्लिस स्कुलमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूका लागि जीवन शिक्षा एवं संस्कार र कर्तव्य बोध सम्बन्धी ज्ञान दिने उद्देश्यले दुई दिने सेमिनार कार्यक्रमको आयोजना गरेको छ।

नेपाल मैत्रीय गुठीको भवन चापागाउँमा आयोजित उक्त आवासीय कार्यक्रममा विद्यार्थीहरूलाई सफल र सार्थक जीवनका लागि गर्नुपर्ने कार्यहरू , हाम्रो जीवनमा अनुशासन, शिष्टता, विनयशीलता, असल संस्कार र जीवन मूल्य सम्बन्धी ज्ञान प्रदान गरिएको थियो।

विद्यालयका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौलाको नेतृत्वमा सहभागी विद्यार्थीहरूले अन्तरक्रियात्मक शैलीमा अत्यन्तै जीवन उपयोगी र व्यवहार उपयोगी ज्ञान प्राप्त गरी आफूभित्रको ज्ञानको क्षितिजलाई फराकिलो पार्न सफल भएका थिए।

कार्यक्रममा अन्तर्राष्ट्रिय प्रशिक्षक एवं संस्थाका गुरु फानले विद्यार्थीहरूलाई जीवनमूल्य र मान्यता सम्बन्धी दीक्षा दिएका थिए भने नेपाल मैत्रीय गुठीका संरक्षक सानुकाजी डंगोल, प्रशिक्षकहरू डोलराज घिमिरे ,सुजन बजगाई, सृष्टि डंगोल, रश्मी केसी र पुनम जोशी लगायतले अत्यन्तै रमाइलो तथा आकर्षक शैलीमा विद्यार्थीहरूका मन र मस्तिष्कमा पुग्ने गरी जीवन शिक्षा र असल संस्कार सम्बन्धी ज्ञान प्रदान गरेका थिए।

विशेष गरेर जीवनको सार र अर्थ, सफलताका सूत्रहरू, आमाबुबाप्रतिको कर्तव्य, गन्तव्यमा पुग्न जीवनमा गर्नुपर्ने प्रतिज्ञा एवं विश्वास र अभ्यास शीर्षकमा वक्ताहरुले प्रकाश पारेका थिए।

कार्यक्रमको अन्त्यमा विद्यार्थीहरूले आफूले सिकेका कुराहरू व्यक्त गर्दै अथाह ज्ञानको रसपान गराएर जीवन सफल र सार्थक पार्ने उपाय बताइदिनु भएकोमा गुठी परिवार एवं सम्पूर्ण प्रशिक्षकहरूलाई धन्यवाद ज्ञापन गरेका थिए।

साथै विद्यालय परिवार एवं सम्पूर्ण विद्यार्थीको तर्फबाट नेपाल मैत्रीय गुठी परिवारप्रति हार्दिक आभार र कृतज्ञता ज्ञापन गर्दै सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौलाले धन्यवाद समेत ज्ञापन गरेका थिए भने यस्ता सभ्यता, सुसंस्कारी ज्ञानले विद्यार्थीको असल चरित्र निर्माण गर्ने अझ सशक्त र जीवन उपयोगी ज्ञान संस्थाले प्रदान गर्दै जाओस् भन्ने शुभकामना समेत दिएका थिए।