ताजा अपडेट

ट्रेन्डिङ

वातावरण सरसफाइ र परम्परागत पेसा प्रवर्द्धन गर्नेे माैलिक पर्व : छ्याला पुन्ही

Gyan Khabar

सत्य राम कासिछ्वा

शनि, पुस १९, २०८२
304 पटक हेरिएको
वातावरण सरसफाइ र परम्परागत पेसा प्रवर्द्धन गर्नेे माैलिक पर्व : छ्याला पुन्ही

सत्य राम कासिछ्वा

नेवार समुदायका मानिसले वातावरण सरसफाइ गर्नुका साथै आफ्नो माैलिक परम्परागत पेसालाई समेत जीवन्तता दिने गर्दछ । यहीँ क्रममा नेवार समुदायमा रहेका विभिन्न चाडपर्वहरू कृषि र सरसफाइसँग सम्बन्धित रहेका छन् । जसमध्ये एक हो, पौष शुक्ल पूर्णिमाको दिन नेवार समुदायले मनाइने पर्व छ्याला पुन्ही । यसदिन नेवार समुदायको घरमा वर्षभरि प्रयोग गरी टुटेफुटेका, चर्केका माटोका सामान अर्थात् भाँडाकुँडाहरु (घ:, स्वमा, टेप:, अघ:, कलाचा, गप: भाजं, भ्यग:) एकाबिहानै विशेष गरेर महिलाहरूले घरनजिक रहेको ‘छ्वास’ (टोलको चौबाटोमा रहेको ठूलो ढुंगा) मा फुटाएर घरको सरसफाइ गर्ने चलन रहेको छ ।

`छ्वास´ भन्नाले नगर वा टोलको रक्षा गर्ने देवता अर्थात् नेपाली भाषामा खस्तिका देवी (अजिमा) कहाँ काम नलाग्ने भाँडाकुँडाहरू जहाँ पायो त्यही फालिँदैन । यो दिनलाई वर्षको फोहर फाल्ने अन्तिम तोकिएको दिन मानिन्छ । यो दिन नेवार समुदाय रहेको नगरभरिका विभिन्न ठाउँमा माटाका भाँडा फुटाइराखेको देखिन्छ ।

यस पुन्हीलाई मिला पुन्ही पनि भनिन्छ । मिला महिना अर्थात् आगो ताप्ने महिना भएकाले मिला पुन्ही भन्ने गरिन्छ। पुस/माघ महिनामा धेरै जाडो हुने भएकाले यो पूर्णिमादेखि आगो बालेर ताप्ने र शरीर तताउने चलन छ ।

छ्याला पुन्ही’को धार्मिक पक्ष
यसै दिनदेखि भक्तपुरको हनुमानघाट, काठमाडौँको साँखु र ललितपुरको लुभुमा एक महिने श्री स्वस्थानी माताको व्रत बस्न सुरु गर्ने प्रचलन पनि रहेको छ । यसैदिन, भगवान चाँगुनारायण काठमाडौँको तलेजु भवानीकोमा लग्ने गरिन्छ ।

जनश्रुति
चाँगुनारायण, लक्ष्मी र सरस्वतीको प्रतीक चाँदीको तीनवटा कलश तलेजुमा लग्ने लिच्छविकालीन परम्परा हो । लिच्छविकालमा यसरी चाँगुनारायणलाई तलेजु लगिँदा उक्त यात्रा रोक्न वा पर सार्न भगवानलाई अपसगुन होस् र यात्रा रोकियोस् भन्ने उद्देश्यले बाटोमा माटाको भाँडाकुँडाहरू फुटाउने प्रचलन रहेको जनश्रुति पाइन्छ ।
चाँगुनारायणको तलेजु यात्रा रोक्न बाटोमा फुटाइएका माटाका भाँडाहरूलाई सफा गर्ने गतिविधि नै कालान्तरमा संस्कृतिको प्रचलन बनेको हो । सोही प्रचलनलाई पछ्याउँदै आज पनि छ्याला पुन्ही अर्थात् पौष शुक्ल पूर्णिमाको दिन फुटेका माटाका भाँडा खोजेर घरनजिकै मिल्काउने चलन चलिआएको हुनसक्ने अनुमान गरिन्छ ।
चाँगुनारायण काठमाडौँ ल्याएको हो भनी साक्षी राख्न वसन्तपुरमा कुमारीको समेत उपस्थिति गराइने प्रचलन पनि छ ।

‘छ्याला पुन्ही’ को विशेषता
नेवार समुदामा मनाइने पर्व दुईथरीका हुन्छन् । एउटा भोज खाने र अर्को नखाने। यस पर्वका दिन कुनै अरू जात्रापर्वमा जस्तै बाजागाजा बजाएर रमाइलो गर्ने र कुनै भोजभतेर तथा अन्य केही पनि चल्दैन । छ्याला पुन्हीको दिन नेवार समुदायको कुनै पनि घरमा भोजको कुनै परिकार पाक्दैन । सामान्य दिनमा जस्तै बिहानबेलुकी दालभात नै खाने गरिन्छ । यो पर्वमा बिहानै चोकचोकमा घरमा रहेका टुटेफुटेका, चिरा परेका माटाका भाडाकुँडा फाल्न लानेबाहेक केही हुँदैन ।

नेवार समुदायमा माटाका भाँडाकुँडाहरू वर्षमा एक पटक दशैंमा भित्र्याउने परम्परा रहेको छ भने एकपटक फाल्न लाने परम्पराअन्तर्गत छ्याला पुन्हीको दिन फाल्न लाने गरिन्छ । प्लास्टिक, पितल, तामा जस्ता भाँडाकुँडाहरू नभएको बेलामा पहिला खाना पकाउनेदेखि लिएर सबै चिजका लागि माटाको भाँडाकुँडाहरू प्रयोग हुने गर्दथ्यो।
नेवार समुदायमा चिरा परेका, काम नलाग्ने भाँडाकुँडाहरू घरमा राखिराख्दा अशुभ हुने जनविश्वासले वर्षमा एकपटक छ्याला पुन्हीका दिन भाँडाकुँडाहरू घरशुद्धिका लागि चोकमा फालिन्छ । अन्य दिन भाँडाकुँडाहरू फाल्दा फोहोर हुने भएकाले एकैदिन सबैले आफ्नो नजिको चोकमा भाँडाकुँडाहरू फाल्ने प्रचलन रहेको हो ।

यस पर्वलाई जीवन्तता दिनसके एकातिर परम्परागत माटाका भाँडाकुँडा बनाउने पेसा जगेर्ना हुने र अर्कोतिर संस्कृतिले जीवन्तता पाउँछ । माटाका भाँडाकुँडाको स्थान प्लाष्टिकका भाँडाकुँडाले लिन थाल्दा माटाका भाँडाकुँडा बनाउने कुमालेहरू पनि परम्परागत माैलिक व्यवसायबाट पलायन हुन थालेका छन् ।

नेवार समाजको सभ्यताको सुरुवातदेखि नै यो प्रचलन चलेको पाइन्छ । साथै अहिलेको प्लास्टिकजन्य भाँडाकुँडाको अत्यधिक प्रयोग गर्ने संस्कार बढ्दा यो पर्व लोप हुन सक्ने अवस्था एकातिर छ भने अर्कोतिर अत्यधिक प्लास्टिकजन्य भाँडाकुँडा र सरसामानको प्रयोगले वातावरण प्रदुषणसहित मानव स्वास्थ्य र सम्पूर्ण प्राणीको जीवनमाथि खतरा सिर्जना गरेको छ ।

यसर्थ वातावरण संरक्षण र सरसफाइ गर्नेे माैलिक परम्परागत पेसाको जगेर्नासहित लिच्छविकालीन छ्याला पुन्ही पर्व जीवन्त बनाउन प्लास्टिकजन्य भाँडाकुँडाको प्रयोगलाई क्रमशः कम गर्दै लग्ने नीति हरेक सरकारको हुनुपर्छ ।