ताजा अपडेट

ट्रेन्डिङ

मिनर्वा इंगलिश स्कूलमा सोनाम ल्होछारको रौनक: एसईई उत्तीर्ण विद्यार्थीलाई बिदाइ

Gyan Khabar

ज्ञानखबर

आइत, पुस २७, २०८२
197 पटक हेरिएको
मिनर्वा इंगलिश स्कूलमा सोनाम ल्होछारको रौनक: एसईई उत्तीर्ण विद्यार्थीलाई बिदाइ

भक्तपुर नगरपालिका–४ स्थित मिनर्वा इंगलिश स्कूलमा सोनाम ल्होछार मन्जुश्री संवत् २८६२ औं ता (घोडा) वर्षको पावन अवसरमा आयोजित विशेष प्रदर्शनी, एसईई बिदाइ तथा सांस्कृतिक कार्यक्रम पुस २६ गते शनिबारका दिन भव्यताका साथ सम्पन्न भएको छ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा आयोजित उक्त समारोहमा एकातिर तामाङ समुदायको महान पर्वको उल्लास देखिएको थियो भने अर्कोतिर माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरी उच्च शिक्षातर्फ पाइला चालेका विद्यार्थीहरूलाई माया र हौसलाका साथ बिदाइ गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सुनिल प्रजापतिले भाषा र संस्कृति नै मानिसको वास्तविक पहिचान भएको कुरामा जोड दिनुभयो।

FB IMG 1768196142045

भक्तपुर नगरपालिकाले यहाँका मूर्त र अमूर्त सम्पदाको संरक्षणलाई सधैं उच्च प्राथमिकता दिँदै आएको चर्चा गर्दै उहाँले हरेक जातजाति र समुदायले आफ्नो इतिहास र परम्परालाई जीवन्त राख्न प्रयास गर्नुपर्ने बताउनुभयो। नगर प्रमुख प्रजापतिले भक्तपुर महोत्सवमार्फत नगरको कला, संस्कृति र जीवनशैलीलाई विश्वसामु प्रदर्शन गरिएको स्मरण गर्दै विदेशी संस्कृतिको अतिक्रमण रोक्न विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानका साथै व्यवहारिक र सांस्कृतिक शिक्षा दिनु अपरिहार्य रहेको धारणा राख्नुभयो।

भक्तपुर नपा वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवालले भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउन यहाँका शैक्षिक संस्थाहरूको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्दै मिनर्वा स्कूलले शैक्षिक गुणस्तरसँगै खेलकुद र सांस्कृतिक क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्नुभयो।

20260112 114434

नेपाल राष्ट्रिय तामाङ संघका महासचिव प्रबिन बलले तामाङ समुदायको नयाँ वर्षको शुभकामना आदानप्रदान गर्दै विद्यालयहरूले यस्ता सांस्कृतिक कार्यक्रममार्फत विद्यार्थीहरूलाई आफ्नो मौलिकता बुझाउने कार्य गरेकोमा खुसी व्यक्त गर्नुभयो।

विद्यालयका प्रधानाध्यापक राजेन्द्र दुवालले विद्यार्थीहरूको बौद्धिक मात्र नभई सर्वाङ्गीण विकासका लागि विद्यालयले विभिन्न अतिरिक्त क्रियाकलाप र प्रदर्शनीहरूलाई निरन्तरता दिँदै आएको जानकारी दिनुभयो।

कार्यक्रमको विशेष चरणमा प्रमुख अतिथि प्रजापतिले एसईई उत्तीर्ण विद्यार्थीहरूलाई प्रमाणपत्र र मायाको चिनो प्रदान गरी उनीहरूको उज्ज्वल भविष्यको कामना गर्नुभयो। साथै, वर्षभरि आयोजना गरिएका विभिन्न अतिरिक्त क्रियाकलापका विजेताहरूलाई पुरस्कार वितरण गरिएको थियो।

FB IMG 1768196129983

औपचारिक कार्यक्रमपश्चात प्रमुख प्रजापति लगायतका अतिथिहरूले विद्यार्थीहरूद्वारा तयार पारिएको सोनाम ल्होछार प्रदर्शनीको अभिरुचिपूर्वक अवलोकन गर्नुभएको थियो, जहाँ विद्यार्थीहरूले तामाङ संस्कृति र ल्होछार पर्वको महत्व झल्किने सामग्रीहरू प्रस्तुत गरेका थिए।

20260112 114434 1