ताजा अपडेट

ट्रेन्डिङ

“भान्छालाई औषधालय बनाऔँ” विषयक सचेतनामूलक तालिम सम्पन्न

Gyan Khabar

ज्ञानखबर

आइत, माघ ११, २०८२
715 पटक हेरिएको
“भान्छालाई औषधालय बनाऔँ” विषयक  सचेतनामूलक तालिम सम्पन्न

चमेरो बचत तथा ऋण सहकारी संस्था अन्तर्गतको महिला बचत समूहको आयोजना तथा श्रीहरी सेल्फ रियलाइजेसनल फाउन्डेसनको सहकार्यमा “भान्छालाई औषधालय बनाऔँ” विषयक विशेष सचेतनामूलक तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

चमेरो चौतारी साकोसको तालिम कक्षमा आयोजित उक्त कार्यक्रममा श्रीहरी सेल्फ रियलाइजेसनल फाउन्डेसनका संस्थापक अध्यक्ष श्री चन्द्रहरी कायस्थले मुख्य स्रोत व्यक्तिको रूपमा सहजीकरण गर्नुभएको थियो। तालिमका क्रममा भान्छाको वास्तविक महत्त्व, स्वास्थ्यसँगको यसको गहिरो सम्बन्ध र समाजमा जरा गाडेर बसेका स्वास्थ्यसम्बन्धी अन्धविश्वास एवं भ्रमहरूलाई चिर्ने प्रयास गरिएको थियो।

कार्यक्रममा भान्छालाई मुख्य गरी तीन भागमा वर्गीकरण गर्दै प्रकृतिबाट सिधै प्राप्त हुने ‘प्राकृतिक भान्छा’, मानिसले पकाएर बनाउने ‘मान्छेको भान्छा’ र प्रशोधित सामग्री प्रयोग हुने ‘मेसिनको भान्छा’ बारे व्यावहारिक जानकारी प्रस्तुत गरियो। प्रशिक्षक कायस्थले “खानामा शक्ति हुँदैन, यसले शरीर निर्माण मात्र गर्छ” भन्ने वैज्ञानिक तथा दार्शनिक पक्षलाई उजागर गर्दै शरीरको आवश्यकता भन्दा बढी खाना सेवन गर्दा नै रोग उत्पन्न हुने र सोही कारण मानिस शोक र पीडामा बाँच्न बाध्य भइरहेको तथ्यलाई सरल उदाहरणसहित स्पष्ट पार्नुभयो।

श्रव्य–दृश्य सामग्री र आत्मीय संवादमार्फत सञ्चालन गरिएको उक्त तालिममा करिब ४० जना महिलाको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले “महिलामा ज्ञान भयो भने भान्छामा सुधार हुन्छ र भान्छा सुध्रिए परिवारको स्वास्थ्य सुध्रिन्छ” भन्ने गहिरो अनुभूति व्यक्त गर्दै अनजानमा भान्छाकै कारण विभिन्न रोगहरू उत्पन्न भएको स्वीकार गरे।

कार्यक्रममा चमेरो सहकारीका अध्यक्ष श्री भीमसेन श्रेष्ठले आगामी दिनमा पनि यस्ता ज्ञानमूलक कार्यक्रमका लागि फाउन्डेसनसँग सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

तालिमको अन्त्यमा एक सशक्त सन्देश प्रवाह गर्दै सामूहिक तस्बिर खिचेर सौहार्दपूर्ण वातावरणमा कार्यक्रम समापन गरिएको थियो।

“एक छाक खाने योगी,
दुई छाक खाने भोगी,
तीन छाक खाने रोगी —
अब प्रश्न तपाईंलाई हो,
तपाईं कति छाक खानुहुन्छ?”