ललितपुर महानगरपालिका –१५, सातदोबास्थित ब्राइट फ्युचर सेकेन्डरी स्कुल तथा कलेजले आफ्नो वार्षिक शैक्षिक क्यालेन्डर अनुसार माघ १६ गते ‘रोबोटिक्स तथा विज्ञान प्रदर्शनी’ को भव्य आयोजना गरेको छ।
विद्यार्थीहरूमा रहेको रचनात्मक क्षमता र प्राविधिक ज्ञानलाई उजागर गर्ने उद्देश्यले आयोजित यस विशेष कार्यक्रममा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूले आ–आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए। प्रदर्शनीमा विशेष आकर्षणको रूपमा कक्षा ९ र १० का विद्यार्थीहरूले तयार पारेका रोबोटिक्स परियोजनाहरू रहेका थिए भने कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरूले आफ्नो पाठ्यक्रममा आधारित विभिन्न वैज्ञानिक प्रयोग र प्रयोगात्मक परियोजनाहरू प्रस्तुत गरेका थिए।
वर्षभरिको मेहनत र सिकाइलाई मूर्त रूप दिने यस प्रदर्शनीमा कुल ३९ वटा उत्कृष्ट परियोजनाहरू समावेश गरिएका थिए। प्रत्येक कक्षाका विभिन्न सेक्सनहरूबाट उत्कृष्ट तीन–तीनवटा परियोजनाहरू छनोट गरी प्रदर्शनीमा राखिएको थियो, जसले विद्यार्थीहरूमा प्रयोगात्मक सिकाइप्रति थप ऊर्जा थपेको थियो।

परियोजनाहरूको सूक्ष्म मूल्याङ्कन शिक्षक र अभिभावकहरूद्वारा संयुक्त रूपमा गरिएको थियो। यस प्रक्रियाले अभिभावकहरूलाई आफ्ना बालबालिकाले विद्यालयमा विज्ञान र प्रविधिको क्षेत्रमा कस्तो ज्ञान हासिल गरिरहेका छन् भन्ने कुरा प्रत्यक्ष रूपमा नियाल्ने र जानकारी लिने सुवर्ण अवसर प्रदान गरेको थियो।
कार्यक्रमको उद्देश्यबारे प्रष्ट पार्दै विद्यालयका संस्थापक, एकेडेमिक डाइरेक्टर एवं क्याम्पस चिफ किशोर अधिकारीले बालबालिकाले रोबोटिक्स र विज्ञानको क्षेत्रमा प्राप्त गरेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्न यस्ता प्रदर्शनीहरू महत्त्वपूर्ण हुने बताउनुभयो। उहाँले विद्यार्थीहरूको सिर्जनशीलतालाई प्रोत्साहन गर्न र उनीहरूले आर्जन गरेको सीपबारे अभिभावकलाई अवगत गराउन विद्यालयले सधैँ यस्ता प्रयोगात्मक शिक्षामा जोड दिँदै आएको उल्लेख गर्नुभयो।

प्रदर्शनीमा सहभागी परियोजनाहरूमध्ये उत्कृष्ट ठहरिएका प्रथम, द्वितीय र तृतीय समूहलाई पुरस्कारद्वारा प्रोत्साहित गरिनेछ भने सर्वोत्कृष्ट हुने परियोजनालाई विद्यालयको वार्षिकोत्सवको काकार्यक्रममा विशेष सम्मान गरिने कार्यक्रम रहेको छ।
ब्राइट फ्युचरले केवल विज्ञानमा मात्र नभई विद्यार्थीको बहुआयामिक विकासका लागि विभिन्न अतिरिक्त क्रियाकलापहरूलाई पनि उत्तिकै प्राथमिकता दिँदै आएको छ। विद्यालयको वार्षिक कार्यतालिकामा यस प्रदर्शनीका अतिरिक्त फुड स्टल, कला प्रदर्शनी र अन्य परियोजना प्रदर्शनीहरू जस्ता रचनात्मक कार्यक्रमहरू समेत समावेश रहेका छन्।
