गोकर्णेश्वर-४ स्थित शुभकामना स्कूलले आफ्नो वार्षिक शैक्षिक तालिका अनुसार आज मिति २०८२ माघ १६ गते अत्तरखेलस्थित ओसिस पार्टी प्यालेसमा “अभिभावक अभिमुखीकरण तथा नतिजा प्रकाशन कार्यक्रम” अत्यन्तै सभ्य र भव्य रूपमा सफलतापूर्वक सम्पन्न गरेको छ।
कार्यक्रममा अभिभावकहरूको बाक्लो उपस्थिती रहेको थियो। विद्यार्थीहरूको चौतर्फी विकासमा अभिभावकको भूमिकालाई प्रष्ट पार्न आयोजित विशेष अभिमुखीकरण सत्रलाई प्रख्यात प्रशिक्षक प्रितम पौड्यालले सहजीकरण गर्नुभएको थियो। उहाँले आधुनिक समयमा बालमनोविज्ञान बुझेर कसरी उनीहरूको उज्ज्वल भविष्य निर्माण गर्न सकिन्छ भन्ने विषयमा महत्वपूर्ण टिप्सहरू प्रदान गर्नुभयो।
अभिमुखीकरणसँगै विद्यालयले विद्यार्थीहरूको शैक्षिक नतिजा समेत प्रकाशन गरेको थियो। कार्यक्रममा सहभागी अभिभावकहरूले विद्यालयको शैक्षिक गुणस्तर र यस्ता रचनात्मक कार्यक्रमहरूको खुलेर प्रशंसा गर्नुभयो। विद्यालयका अनुसार, अभिभावकहरूबाट प्राप्त सकारात्मक प्रतिक्रिया र उत्साहले कार्यक्रमको वातावरण अत्यन्तै सौहार्दपूर्ण र ऊर्जावान् बनेको थियो।

अभिभावकहरूको यो अभूतपूर्व साथ र सहयोगले विद्यालय परिवारलाई थप उत्साहित बनाएको छ। अभिभावकहरूको उत्साहजनक सहभागिता र सकारात्मक प्रतिक्रियाले शुभकामना स्कूललाई अझ सशक्त, गुणस्तरीय र प्रतिबद्ध भएर अघि बढ्न ठूलो प्रेरणा मिलेको विद्यालयले जनाएको छ।
