स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी र व्यवस्थित बनाउनका लागि नयाँ व्यवस्था लागू गर्ने निर्णय गरेको छ । बोर्डको गत पुस २४ गते बसेको बैठकको निर्णयानुसार अबदेखि स्वास्थ्य बीमा अन्तर्गत उपलब्ध हुने बहिरंग अर्थात् ओपिडी सेवामा वार्षिक सीमा निर्धारण गरिएको छ । यो नयाँ व्यवस्था आगामी फागुन १ गतेदेखि देशभरका सूचीकृत स्वास्थ्य संस्थाहरूमा कार्यान्वयनमा आउने बोर्डले जनाएको छ ।
नयाँ व्यवस्था अनुसार पाँच जना सदस्य भएको एक परिवारले अब एक वर्षमा अधिकतम २५ हजार रुपैयाँ बराबरको मात्र ओपिडी सेवा उपभोग गर्न पाउनेछन् । यदि परिवारमा पाँच जनाभन्दा बढी सदस्य भएमा प्रत्येक थप एक सदस्यका लागि वार्षिक ५ हजार रुपैयाँका दरले थप सुविधा प्राप्त हुने व्यवस्था गरिएको छ । बीमा कार्यक्रममा बढ्दै गएको वित्तीय भारलाई कम गर्दै सेवालाई अझ बढी जिम्मेवार र दिगो बनाउने उद्देश्यले यो सीमा तोकिएको बोर्डका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डाक्टर पवन कुमार शाहद्वारा जारी सूचनामा उल्लेख छ ।
यद्यपि यो नयाँ सीमाले कडा तथा दीर्घरोगीहरूको उपचारमा भने कुनै असर पार्ने छैन । स्वास्थ्य बीमा नियमावलीको अनुसूची ६ मा उल्लेख भए बमोजिमका आठ प्रकारका कडा तथा दीर्घरोगहरूको उपचारका लागि हाल भइरहेको विशेष व्यवस्था यथावत नै रहने बोर्डले प्रष्ट पारेको छ । स्वास्थ्य बीमा कार्यक्रमलाई सफलतापूर्वक सञ्चालन गर्न सहयोग पुर्याउने सम्पूर्ण सेवा प्रदायक संस्थाहरूलाई धन्यवाद दिँदै बोर्डले यो नयाँ निर्णय कार्यान्वयनमा सहयोग गर्न समेत आग्रह गरेको छ ।
