ताजा अपडेट

ट्रेन्डिङ

देवी माविमा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

Gyan Khabar

ज्ञानखबर

मङ्ल, माघ २०, २०८२
172 पटक हेरिएको
देवी माविमा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

चाँगुनारायण नगरपालिका–९ स्थित देवी माध्यमिक विद्यालयमा ‘असल अभिभावकत्व: सफल सन्तानको आधार’ विषयक एक विशेष अभिमुखीकरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। सोमबार आयोजित उक्त कार्यक्रममा परामर्शकर्ता तथा उत्प्रेरक कमल सिलवालले अभिभावकहरूलाई बालबालिकाको मनोविज्ञान र उनीहरूको उज्ज्वल भविष्यका लागि घरपरिवारको भूमिकाबारे महत्वपूर्ण प्रशिक्षण दिनुभयो।

करिब डेढ घण्टासम्म चलेको सहजीकरणमा अभिभावकहरू पूर्ण रूपमा ध्यान केन्द्रित गरी सहभागी भएका थिए। कार्यक्रमका क्रममा उत्प्रेरक सिलवालले दैनिक व्यवहारका उदाहरण दिँदा हलमा हाँसो मात्रै छाएन, बरु धेरै अभिभावकहरूले आफ्नै व्यवहारको प्रतिविम्ब देख्दै आत्ममूल्याङ्कन समेत गरे। “बच्चा चुप लागोस् भनेर हामी नै मोबाइल दिन्छौँ र पछि मेरो बच्चा मसँग बोल्दैन भनेर गुनासो गर्छौँ,” सिलवालले भन्नुभयो। यो भनाइले धेरै अभिभावकलाई आफ्नो गल्ती महसुस गराएको थियो।

सहजीकरणका क्रममा सिलवालले अभिभावकहरूले अन्जानमा गर्ने गम्भीर त्रुटिहरूका बारेमा चर्चा गर्नुभयो। उहाँले छिमेकी वा नातेदारका छोराछोरीसँग आफ्ना बालबालिकालाई तुलना नगर्न आग्रह गर्दै यस्तो प्रवृत्तिले उनीहरूको आत्मविश्वास क्षीण पार्ने चेतावनी दिनुभयो। “डर, धम्की र कुटपिट अनुशासनको माध्यम होइन,” उहाँले स्पष्ट पार्नुभयो, “डरले बालबालिका केही क्षण शान्त त होलान् तर सच्चिँदैनन्। संवाद र विश्वासबाट मात्र दीर्घकालीन सुधार सम्भव छ।”

कार्यक्रममा बोल्दै देवी माध्यमिक विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर थुयाजुले विद्यार्थीको समग्र विकासका लागि विद्यालय र अभिभावकबीचको सहकार्य अनिवार्य रहेको बताउनुभयो। उहाँले सन्तानको शैक्षिक प्रगति बुझ्न अभिभावकहरू नियमित रूपमा विद्यालयको सम्पर्कमा रहनुपर्नेमा जोड दिनुभयो।
त्यसैगरी, चाँगुनारायण–९ का वडा अध्यक्ष गणेश त्यातले शिक्षाको गुणस्तर सुधार गर्ने दायित्व घर, विद्यालय र समुदायको साझा जिम्मेवारी भएको उल्लेख गर्नुभयो। घरमा संस्कार र अनुशासनको वातावरण भए मात्र विद्यालयको प्रयास सफल हुने उहाँको भनाइ थियो।

अन्तरक्रियात्मक विधिबाट सञ्चालित कार्यक्रममा विव्यस पदाधिकारी, शिक्षक, र अभिभावकहरूको बाक्लो उपस्थिति थियो। कार्यक्रममा सहभागी अभिभावकहरूले यस अभिमुखीकरणलाई आफ्नै भूमिका पुनः मूल्याङ्कन गर्ने र बालबालिकासँगको सम्बन्धलाई नयाँ दृष्टिकोणले हेर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको बताए।