पश्चिम नवलपरासीको बर्दघाटमा सञ्चालन भइरहेको ‘प्रथम बर्दघाट एक्सपो २०८२’ मा ‘समग्र विकासमा निजी क्षेत्रको भूमिका र नवलपरासीको विकास सम्भावना’ विषयक विशेष प्यानलिष्ट छलफल सम्पन्न भएको छ। बर्दघाट नगरको समृद्धिका लागि भविष्यको स्पष्ट खाका कोर्ने उद्देश्यले आयोजित यस कार्यक्रममा देशका प्रतिष्ठित आर्थिक विज्ञ तथा उद्यमीहरूले आफ्ना धारणा राख्नुभएको थियो।
उद्योग व्यापार संघ बर्दघाटका अध्यक्ष एवं एक्सपो मूल आयोजक समितिका संयोजक राजु न्यौपानेले कार्यक्रमको उद्देश्य प्रष्ट पार्दै स्थानीय व्यवसायीका समस्या समाधान, रोजगारी सिर्जना र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि यो बौद्धिक मञ्च महत्वपूर्ण हुने बताउनुभयो। उहाँले बर्दघाट नगरपालिकाले सञ्चालन गर्न लागेको औद्योगिक ग्रामका लागि निजी क्षेत्रले पूर्ण सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभयो।
छलफलका क्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (CEO) मनोज ज्ञवालीले देशको मध्य भागमा रहेको र सीमा क्षेत्रसँग नजिक भएका कारण बर्दघाटमा व्यवसायिक सफलताको उच्च सम्भावना रहेको औंल्याउनुभयो। राजनीतिक अस्थिरताले निकास नपाए पनि स्थानीय उत्पादनलाई राष्ट्रिय स्तरमा जोड्नुपर्नेमा उहाँको जोड थियो। ज्ञवालीले भन्नुभयो, “अब डिजिटल प्रविधिको प्रयोग गरेर बजारीकरणमा जानुको विकल्प छैन। समाजको आर्थिक विकास बिना देशको समृद्धि सम्भव नभएकाले पहिले हामीले आफ्नो सोचमा परिवर्तन ल्याउनुपर्छ।”
जेसिआई इन्टरनेसनल (वर्ष २०२६) की उपाध्यक्ष रजनी थापाले स्थानीय उत्पादनले उचित मूल्य नपाउनुको मुख्य कारण फितलो ब्राण्डिङ्ग र प्याकेजिङ्ग रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “हामी थोरै लगानीमा तुरुन्तै धेरै फाइदा खोज्छौं, तर व्यापारमा धैर्य र साहस चाहिन्छ। हाम्रा धार्मिक र पर्यटकीय क्षेत्रको व्यापक प्रचारप्रसार गरेर मात्रै हामीले आर्थिक लाभ लिन सक्छौं।”
त्यस्तै, पैँचो पसलका सिईयो केशव न्यौपानेले बर्दघाटलाई ‘अवसरै अवसरको क्षेत्र’ का रूपमा चित्रण गर्नुभयो। उहाँले स्थानीय स्तरमा उत्पादन हुने उखु, अम्रिसो र दालचिनीलाई सिधै कच्चा पदार्थका रूपमा बेच्नुभन्दा प्रशोधन गरेर बेच्न सुझाव दिनुभयो। “उखुलाई गुण वा चकलेटमा बदलेर बेच्न सके कृषकले थप आर्थिक लाभ लिन सक्छन्,” न्यौपानेले भन्नुभयो, “हामी जागिरको खोजीमा लाग्नुभन्दा कसरी उद्यमी बन्ने भन्ने सोचका साथ अगाडि बढ्नुपर्छ।”
छलफलमा सहभागी स्थानीय व्यवसायीहरूले बदलिँदो सरकार, बजार व्यवस्थापन र उद्यमी बन्न भोग्नुपरेका चुनौतीहरूबारे आफ्ना जिज्ञासा राखेका थिए। वरिष्ठ अर्थविद् डा. सञ्जीव हुमागाईंले सहजीकरण गर्नुभएको उक्त कार्यक्रमको सञ्चालन पत्रकार कृष्ण ढकालले गर्नुभएको थियो। यस छलफलले बर्दघाटको निजी क्षेत्र र उद्योगीहरूमा नयाँ उत्साह थप्ने विश्वास आयोजकले लिएको छ।