ताजा अपडेट

ट्रेन्डिङ

“एक विश्व, एक आध्यात्मिक परिवार”: भक्तपुरमा साउन्ड हिलिङमार्फत युवामा मानसिक चेतनाको जागरण

Gyan Khabar

ज्ञानखबर

शनि, फाल्गुन २, २०८२
42 पटक हेरिएको
“एक विश्व, एक आध्यात्मिक परिवार”: भक्तपुरमा साउन्ड हिलिङमार्फत युवामा मानसिक चेतनाको जागरण

बढ्दो प्रतिस्पर्धा र तनावपूर्ण जीवनशैलीका बीच युवाहरूमा मानसिक शान्ति र सकारात्मक ऊर्जा भर्ने उद्देश्यले भक्तपुरमा विशेष साउन्ड हिलिङ कार्यक्रम सम्पन्न भएको छ। श्रीहरी सेल्फ रियलाइजेसनल फाउन्डेसन र रोट्र्याक क्लब अफ भक्तपुरको संयुक्त आयोजनामा माउन्ट भ्याली स्कुलको सभाहलमा यो प्रभावकारी सत्र सञ्चालन गरिएको हो।

कार्यक्रमका मुख्य प्रस्तोता एवं फाउन्डेसनका संस्थापक अध्यक्ष चन्द्रहरी कायस्थले सहभागीहरूलाई ध्यान र हिमालयन साउन्ड हिलिङको प्रत्यक्ष अनुभूति गराउनुभयो। २६ भन्दा बढी वैकल्पिक उपचार विधामा विज्ञ कायस्थले ध्वनि तरङ्ग र गहिरो विश्रामका माध्यमबाट मानसिक स्पष्टता र आन्तरिक आनन्द प्राप्त हुने बताउनुभयो। उहाँले भन्नुभयो, “हाम्रो लक्ष्य ‘एक विश्व, एक आध्यात्मिक परिवार’ निर्माण गरी सबैलाई स्वस्थ, ज्ञानी र प्रेमपूर्ण जीवन बाँच्न सिकाउनु हो।”

आयोजक संस्थाका अध्यक्ष रवि गोर्खालीले आजका युवाहरूमा देखिने अनिद्रा, डिप्रेसन र भावनात्मक असन्तुलन कम गर्न यस्ता उपचारात्मक कार्यक्रम अनिवार्य रहेको उल्लेख गर्नुभयो। सहभागी युवाहरूले साउन्ड हिलिङपछि आफूहरूले निकै हलुका महसुस गरेको र सकारात्मक ऊर्जा प्राप्त गरेको प्रतिक्रिया दिएका थिए।

कार्यक्रममा फाउन्डेसनका कोषाध्यक्ष राजेन्द्र कुमार शाक्य र सल्लाहकार विकासदेव योञ्जन लामाले यस्ता कार्यक्रमलाई विद्यालय र समुदायस्तरसम्म विस्तार गर्नुपर्नेमा जोड दिनुभयो।