ताजा अपडेट

ट्रेन्डिङ

युनिटी स्कूलमा विज्ञान तथा सामाजिक प्रदर्शनी–२०८२ सम्पन्न

Gyan Khabar

ज्ञानखबर

आइत, फाल्गुन ३, २०८२
183 पटक हेरिएको
युनिटी स्कूलमा विज्ञान तथा सामाजिक प्रदर्शनी–२०८२ सम्पन्न

भक्तपुरको सूर्यविनायक नगरपालिका–०५ मा अवस्थित युनिटी इङ्ग्लिस स्कुलले विद्यार्थीहरूको अन्तर्निहित प्रतिभा र नवीन सोचलाई उजागर गर्ने उद्देश्यका साथ ‘विज्ञान तथा सामाजिक प्रदर्शनी–२०८२’ सफलतापूर्वक सम्पन्न गरेको छ। विद्यालय परिसरमा आयोजित उक्त विशेष कार्यक्रममा विद्यार्थी, अभिभावक तथा स्थानीय शिक्षाप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रदर्शनीमा विद्यार्थीहरूले आफ्नो पाठ्यक्रममा सिकेका सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रूप दिँदै अत्यन्तै आकर्षक र उपयोगी परियोजनाहरू प्रस्तुत गरेका थिए। विज्ञान विधातर्फ आधुनिक एआई (AI) र रोबोटिक्सका परियोजनाहरूले दर्शकलाई मन्त्रमुग्ध पारेका थिए भने सामाजिक विधातर्फ स्थानीय सामग्रीको प्रयोग गरी तयार पारिएका कलाकृति र सामाजिक विषयवस्तुमा आधारित जानकारीमूलक प्रस्तुतीहरूले विद्यार्थीहरूको गहिरो अनुसन्धान क्षमतालाई प्रस्ट्याएका थिए। यस प्रदर्शनीले विद्यार्थीहरूमा नवीन सोच, व्यवहारिक ज्ञान र समसामयिक वैज्ञानिक तथा सामाजिक विषयप्रतिको बुझाइलाई थप परिष्कृत बनाउन उत्कृष्ट अवसर प्रदान गरेको छ।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले अत्यन्त उत्साह, लगनशीलता र उच्च आत्मविश्वासका साथ आफ्ना प्रस्तुतीकरण दिएका थिए। अवलोकनकर्ता अभिभावक तथा अतिथिहरूले विद्यार्थीहरूको मिहिनेत र सिर्जनशीलताको मुक्तकण्ठले प्रशंसा गर्दै यस्तो वातावरणले बालबालिकाको सर्वाङ्गिण विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

विद्यालयका प्रधानाध्यापक श्री बिपिन गुमान्जुज्यूले कार्यक्रमको सफलतापूर्वक समापन भएकोमा खुसी व्यक्त गर्दै यस्ता रचनात्मक कार्यक्रमहरूले विद्यार्थीहरूमा आलोचनात्मक सोच, सहकार्यको भावना र प्रस्तुतीकरण सीपको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो। उहाँले कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण शिक्षक, कर्मचारी तथा लगनशील विद्यार्थीहरू प्रति हार्दिक कृतज्ञता समेत व्यक्त गर्नुभयो।