ताजा अपडेट

ट्रेन्डिङ

विमल मेमोरियल विद्यापीठको सम्मान समारोह तथा अभिभावक दिवस सम्पन्न

Gyan Khabar

ज्ञानखबर

आइत, फाल्गुन १७, २०८२
440 पटक हेरिएको
विमल मेमोरियल विद्यापीठको सम्मान समारोह तथा अभिभावक दिवस सम्पन्न

सूर्यविनायक नगरपालिका वडा नं. १०, चित्तपोलस्थित विमल मेमोरियल विद्यापीठले सम्मान समारोह तथा अभिभावक दिवस २०८२ सम्पन्न गरेको छ। विद्यालयको शैक्षिक गुणस्तर र विद्यार्थीहरूको बहुमुखी प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित उक्त समारोहमा स्थानीय जनप्रतिनिधि, शिक्षाविद् र अभिभावकहरूको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रमको समुद्घाटन प्रमुख अतिथि एवं सूर्यविनायक नगरपालिका वडा नं. १० का वडा अध्यक्ष शिवराम राउतले गर्नुभयो। सोही अवसरमा उहाँले विद्यालयको वार्षिक स्मारिका ‘विमल वाटिका’ अंक ४ को विमोचन समेत गर्नुभयो। सम्बोधनका क्रममा अध्यक्ष राउतले विमल मेमोरियलले शैक्षिक विकासमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै विद्यालयले शैक्षिक र भौतिक दुवै क्षेत्रमा गरेको प्रगतिले अभिभावकको मन जित्न सफल भएको बताउनुभयो।

समारोहको एक मुख्य आकर्षण सम्मान कार्यक्रम रहेको थियो, जहाँ प्रमुख अतिथिले शैक्षिक सत्र २०८१ को एसईई परीक्षामा उत्कृष्ट नतिजाका साथ उत्तीर्ण भएका २४ जना विद्यार्थीहरूलाई विशेष सम्मान गर्नुभयो। साथै, विद्यालयमा कार्यरत समर्पित शिक्षक तथा कर्मचारीहरूलाई उनीहरूको सेवा र योगदानको कदर गर्दै पुरस्कृत गरिएको थियो। उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्ने, नियमित विद्यालय उपस्थित हुने, हस्तलेखन प्रतियोगितामा उत्कृष्ट ठहरिएका र संगीतका विभिन्न विधामा दक्षता हासिल गर्ने विद्यार्थीहरूलाई पनि पदक तथा प्रमाणपत्र प्रदान गरियो।

FB IMG 1772346216795

कार्यक्रममा अतिथि नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष सञ्जय खड्काले बालबालिकालाई असल संस्कार सिकाउन अभिभावकहरूले उनीहरूसँग पर्याप्त समय बिताउनुपर्ने र सही मार्गदर्शन दिनुपर्नेमा जोड दिनुभयो। त्यस्तै, ईप्सन भक्तपुरका अध्यक्ष जी.बी. खड्काले विद्यालयको सक्रियता र उत्कृष्ट शैक्षिक वातावरणको प्रशंसा गर्दै उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभयो।

सभापतिको आसनबाट बोल्दै विद्यालय सञ्चालक समितिका अध्यक्ष एवम् इन्जिनियर कमल कार्कीले आफ्नै गाउँ-ठाउँमा गुणस्तरीय शिक्षा उपलब्ध हुँदाहुँदै टाढाका विद्यालयमा विद्यार्थी पठाउनु उचित नहुने धारणा राख्नुभयो। विद्यालयका प्रिन्सिपल कुमार थापामगरले अभिभावकहरूको अटुट विश्वास र शिक्षक-कर्मचारीहरूको कडा परिश्रमकै कारण विद्यालयले यो उचाइ हासिल गरेको बताउनुभयो। कार्यक्रममा हर्टस फर नेपालका अध्यक्ष सन्जीव साह, पुस्तक व्यवसायी संघ भक्तपुरका उपाध्यक्ष महेश थापा र विद्यार्थीहरू अंकिता कार्की, मनिकराज राउत तथा एस्तर सुन्दासले समेत आफ्ना मन्तव्य राख्नुभएको थियो।

20260301 121636

दुई चरणमा सञ्चालित कार्यक्रमको दोस्रो सत्र पूर्णतया सांस्कृतिक प्रस्तुतिमा केन्द्रित थियो। विद्यार्थीहरूले विभिन्न जातजातिका मौलिक भेषभुषामा सजिएर आकर्षक नृत्य, गीत, र नाटक प्रस्तुत गरेका थिए। साथै, विद्यार्थीहरूले देखाएको तेक्वान्दोको साहसिक प्रदर्शनीले उपस्थित सबैलाई मन्त्रमुग्ध पारेको थियो।

FB IMG 1772346219567