विद्यार्थीहरूको अन्तर्निहित सृजनशीलतालाई उजागर गर्ने उद्देश्यका साथ एडिफाई प्राईभेट स्कुल्स अर्गनाईजेशन नेपाल(ईप्सन) द्वारा आयोजित दुई दिने कथा लेखन प्रशिक्षण तथा प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।
मिति २०८२ चैत्र १ र २ गते सञ्चालित उक्त विशेष कार्यक्रममा विभिन्न सदस्य विद्यालयका कक्षा ५, ६ र ७ का गरी कुल ६३ जना विद्यार्थीहरूले उत्साहजनक सहभागिता जनाएका थिए। प्रतियोगितामा उत्कृष्ट लेखन कला प्रदर्शन गर्ने प्रत्येक कक्षाका चार-चार जना विद्यार्थीहरूलाई पुरस्कृत गरिएको छ।

कक्षा ५ तर्फ क्वालिटी ईङ्लिस स्कुलकी परीधी बास्तोलाले प्रथम स्थान हासिल गरेकी छन् भने युनिटीकी अनुष्का खड्का द्वितीय, बिमल मेमोरियलकी भूमिका जिरेल तृतीय र सूर्योदय स्कुलका प्रियांशु छुस्याकीले सान्त्वना स्थान प्राप्त गरेका छन्।
यसैगरी कक्षा ६ अन्तर्गत क्वालिटीकै प्रजु खड्का प्रथम, सूर्योदयकी पाल्मो तामाङ द्वितीय, हिमालयनकी प्रिति लागे तृतीय र युनिटीकी दिया श्रेष्ठ सान्त्वना स्थानमा पर्न सफल भएका छन्। कक्षा ७ को प्रतिस्पर्धामा ग्लोबल ईङ्लिस स्कुलका रोहन रिजाल प्रथम, ईडन गार्डेनका सुगम पाण्डे द्वितीय, पारिजात बिद्याकुञ्जकी जेबिसा तिमल्सिना तृतीय र सेन्ट जोन्सकी ईतुसा लिम्बुले सान्त्वना पुरस्कार प्राप्त गरेका छन्।

कार्यक्रममा सहभागी तथा विजेता सम्पूर्ण विद्यार्थीहरूको प्रतिभालाई प्रोत्साहन गर्न उनीहरूका कथाहरूलाई संकलन गरेर एउटा कथाको पुस्तक प्रकाशन गर्ने महत्त्वपूर्ण निर्णय समेत गरिएको छ। यसले विद्यार्थीहरूलाई भविष्यमा लेखक बन्न थप प्रेरणा मिल्ने विश्वास लिइएको छ।
सोही अवसरमा शैक्षिक उत्कृष्टतालाई सम्मान गर्दै एसईई २०८१ मा उत्कृष्ट नतिजा ल्याउन सफल छात्रालाई विशेष सम्मान प्रदान गरियो। ईडेन ईङ्लिस स्कुलकी छात्रा सुप्रिया चौलागाईंले ४.० जीपीए प्राप्त गरी उत्कृष्ट सफलता हासिल गरेकोमा सोही विद्यालयका प्रिन्सिपल जय प्रकाश राईमार्फत उनलाई सम्मान पत्र हस्तान्तरण गरिएको थियो।