भक्तपुर नगरपालिका वडा नं. ४, गःपलीस्थित सेकरिड हार्ट एकेडेमीले आफ्नो २३ औँ वार्षिकोत्सव, पुरस्कार वितरण तथा विविध सांस्कृतिक कार्यक्रम–२०८२ एक विशेष समारोहका बीच सम्पन्न गरेको छ। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रजापतिले मिहिनेत, निरन्तर अभ्यास र उचित अवसरले नै विद्यार्थीलाई सफलताको शिखरमा पुर्याउने बताउनुभयो। उहाँले प्रत्येक विद्यार्थीमा अन्तर्निहित क्षमता हुने उल्लेख गर्दै सोही क्षमता अनुसारको शिक्षा प्रदान गर्नु शिक्षकको मुख्य कर्तव्य भएको धारणा व्यक्त गर्नुभयो। साथै, एसईई परीक्षा २०८१ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई बधाई दिँदै उहाँले बलियो शैक्षिक जग नै सुरक्षित भविष्यको आधार भएको बताउनुभयो।
सोही अवसरमा विद्यालयका प्रिन्सिपल श्रीराम सुवालले एसईई २०८१ मा ४ जीपीए ल्याउन सफल विद्यार्थी प्रिन्स लामाको उच्च सम्मान गर्दै विद्यालयका तर्फबाट ५० हजार रुपैयाँ प्रोत्साहन रकम प्रदान गरिएको जानकारी दिनुभयो। प्रिन्सिपल सुवालले हाल विद्यालयमा करिब ६०० विद्यार्थी अध्ययनरत रहेको जानकारी दिँदै किताबी ज्ञानका साथै असल संस्कार र व्यवहारिक शिक्षामा विद्यालयले विशेष जोड दिँदै आएको प्रस्ट पार्नुभयो।

यस्तै, नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले विद्यालयको शैक्षिक गुणस्तरको प्रशंसा गर्दै क्षमतावान् विद्यार्थी, लगनशील शिक्षक र सहयोगी अभिभावकको सामूहिक कारण सेकरिड हार्टले जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताउनुभयो।

कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवाल, उत्प्रेरक विकास देव लामा, नेसनल प्याव्सन भक्तपुरका उपाध्यक्ष रामप्रसाद खाताखो लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। वार्षिकोत्सवको अवसरमा एसईईका उत्कृष्ट छात्र प्रिन्स लामासहित विभिन्न विधामा अब्बल ठहरिएका विद्यार्थी, समर्पित शिक्षक तथा कर्मचारीहरूलाई सम्मान गरिएको थियो। औपचारिक कार्यक्रमका साथै विद्यार्थीहरूले विभिन्न लोक तथा आधुनिक गीत र नृत्यहरू प्रस्तुत गरी समारोहलाई थप उत्साहजनक बनाएका थिए।
